काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
ताप्लेजुङ - ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गएकाे महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो ।
गएकाे महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो । गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ सङ्ख्यामा नाउर रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले बताउनुभयो । यो विगतका वर्षको तुलनामा बढ्दो सङ्ख्या हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका ठाउँमा नाउर पाइने गरेको छ । नाउरको बासस्थान र चरन क्षेत्रलाई आधार मानिएर चार वटा ब्लक क्षेत्र विभाजन गरी नाउरको गणना गरिएको थियो ।
तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा एक हजार ४२१ रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताउनुभयो । कोभिड–१९को कारणले ओलाङचुङ्गोला ब्लक क्षेत्रमा गणना हुन बाँकी छ । अझ ओलाङचुङ्गोला ब्लक क्षेत्रमा गणना गर्दा यो सङ्ख्या बढ्न जाने थापाले बताउनुभयो ।
घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ नाउर रहेको गणना तथ्याङ्कमा आएको छ । याङमा ब्लक क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । चार सय ९५ पोथी, ८१६ वटा भाले र ८० बच्चा नाउर रहेको गणनाको तथ्याङ्कले जनाएको छ ।
सत्ताइस वटा भालेपोथी नछुट्टिएका नाउर रहेका छन् । दुई सय आठ नाउर बयस्क भाले, २०७ नाउर तरुण भाले रहेको र २०६ नाउर किशोरावस्थाको रहेको तथ्याङ्कमा उल्लेख छ । एक सय ९८ वटा अर्धवयस्क उमेरका नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।
संरक्षण क्षेत्रमा चारवटा हिउँ चितुवा उपसमिति गठन गरिएको छ । उपसमितिलाई हिउँ चितुवाको अवलोकन गर्ने मुख्य जिम्मेवारी दिइएको छ । त्यही उपसमितिले हिउँ चितुवाको आहाराका रूपमा मानिने नाउरको पनि अवलोकन गर्दै आएको याङ्मा हिउँ चितुवा उपसमितिका अध्यक्ष फिन्सो शेर्पाले बताउनुभयो । हिउँ चितुवाका उपसमितिका पदाधिकारी र संरक्षण क्षेत्रले तोकिएको प्राविधिकहरुमार्फत नाउरको गणना हुने गरेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो ।
कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङ्पेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामबाट कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङ्गोलाको याङ्मा क्षेत्रलाई याङ्मा र ओलाङचुङ्गोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताउनुभयो ।
समुद्र सतहदेखि तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्ने गरिएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।