चन्द्रशम्शेरकाे पालामा निर्माण भएकाे सुरुङ मार्गकाे पुनर्निर्माण हुने

 साउन १२, २०७८ मंगलबार १३:५१:५२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

मकवानपुर – आजभन्दा एक सय चार वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एसियाकै पहिलो मानिएको सुरुङ मार्गको पुनर्निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ । 

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले झन्डै पाँच करोड रुपैयाँको अधिकतम सीमाभित्रमा सुरुङ मार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेकोमा माउण्टेन इन्फ्रा कम्पनीकाे प्रस्ताव छनोट भएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डाक्टर सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरुङको पुनर्निर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुहुने जनाइएको छ । प्रदेश २ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङ मार्ग १९७५ तिर राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो । 

यस मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरू बताउँछन् । सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एसियामै सुरुङ मार्ग नभएकाले त्यस समय नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा समेत उल्लेख गरेका छन् । 

स्विट्जरल्यान्डबाट नेपालको खानीलगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दि हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङ मार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् । 

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ मार्गले ऐतिहासिक महत्त्व राख्दछ । चुरियामाई सुरुङ मार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।

विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग पाँच सय मिटर लामो थियो । अहिले पहिराले एकापट्टिको भाग पुरिएपछि यो मार्गको दुई सय ८० मिटरमात्र बाँकी रहेको छ । नेपालका पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङ मार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इन्जिनियर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले 'म बसेको ठाउँमा बाटो खनिस्, त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्' भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया