कांग्रेस नेता–कार्यकर्ताको अनशन तोडियो

 साउन १२, २०७८ मंगलबार २०:२९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनशन तोडिएको छ ।

दश दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशन बस्दै आएका पार्टीका केन्द्रीय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बुँदे सहमति भएपछि आज मङ्गलवार दिउँसाे जुस पिएर उनीहरूले अनशन तोडेका हुन् ।

पार्टीको तर्फबाट उनीहरूको माग सम्बोधन गर्ने ६ बुँदे सहमतिमा नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरुमाथि न्याय हुने आशामा अनशन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिनुभयो । उहाँले जिल्ला छानबिन समितिको निर्णयअनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुने विश्वाससमेत व्यक्त गर्नु भयो ।

‘बैठक नै नबसी एकपक्षीय ढङ्गले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ– एक पक्षीय ढङ्गले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानबिन समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नु हुनेछ’, उहाँले भन्नुभयाे ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले उहाँहरूको माग सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यता वितरणमा उहाँहरूले राख्नुभएको माग पार्टी नेतृत्वले सम्बोधन गरी न्याय गर्नेछ ।’

पार्टीको जिल्ला छानबिन समितिको निर्णयअनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेता पार्टी केन्द्रीय कार्यालयमा अनशन बस्दै आएका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया