करदाताले अटेर गरेपछि घर र कार्यालयमै पुगेर माइकिङ गर्दै काठमाण्डाै महानगर

 साउन १३, २०७८ बुधबार १४:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले २३ ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर, जग्गा, सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । 

महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ ठूला करदाताको कार्यालय स्थलमै पुगेर माइकिङ गर्दै आज (बुधवार) देखि तीन दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । उनीहरूबाट झन्डै ७० करोड रुपैयाँ कर असुली गर्न बाँकी रहेको अनुमान छ । 

तोकिएको समयभित्र पनि अटेर गरेर कर नतिरे ती करदाताको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारबाही गर्ने काठमाण्डाै महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर दाखिला तीन दिनभित्र पनि नगरे राजस्व ऐन, स्थानीय सरकार सञ्चालन ऐन र प्रचलित कानुन, नीति, नियमअनुसार उनीहरूको व्यवसाय तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्ने लगायत कडा कारबाही गरिनेछ ।’

काठमाण्डाै महानगरपालिका राजस्व विभागको कार्यालयले गएकाे असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक–पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेमा कान्तिपुर डेन्टल अस्पताल, चिरायू अस्पताल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लब, युनाईटेड वर्ल्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, वाग्मती च्याम्बर, काठमाण्डाै इन्जिनियरिङ कलेज, नेपाल क्षय रोग केन्द्र, नेपाल रेडक्रम सोसाइटी, आदर कम्प्लेक्स, नेशनल अस्पताल, शहीद मेमोरियल अस्पताल, कृषि सामग्री संस्थान रहेका छन् । 

त्यसैगरी मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाण्डाै प्लाजा, नेपाल शेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ ठूला करदाताले अटेर गरेपछि तीन दिनभित्र कर असुल गर्न माइकिङसमेत गरेर ताकेता गर्नुपरेको महानगरले जनाएको छ । विभागीय प्रमुख अधिकारीले कतिपय करदातालाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताउनुभयो ।

राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ । तर ठूला करदाताले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैँले गर्नुपरेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पार्नुभयाे । तत्काल सबै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिनभित्र तीन किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदातालाई सूचितसमेत गरेको छ । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया