काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो ।
सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उहाँले कुनै प्राविधिक कठिनाइ नआए आउँदाे शुक्रवारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने बताउनुभयो । कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाका लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिस्ट्रेशन फारम भरेका थिए ।
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गएकाे वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो । गएकाे जेठ १३ देखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।
बोर्डले एसईईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा त्याे भन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषयगत शिक्षकले के कारण त्याे नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ । कोभिडकै कारणले २०७६ सालको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।