मेरा कारण मौद्रिक नीतिमा ढिलाइ भएको होइन : अर्थ मन्त्री शर्मा

 साउन १४, २०७८ बिहिबार १७:२३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले आफ्नो निर्देशनमा मौद्रिक नीति ल्याउन नरोकिएको दाबी गर्नुभएको छ । काठमाण्डौमा भएको कार्यक्रममा अर्थ मन्त्री शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोक्ने वा ढिलाइ गर्न निर्देशन दिने अधिकार आफूसँग नरहेको पनि बताउनुभयो ।  

राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, नागरिककाे अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उहाँले जानकारी दिनुभयो । 

श्वेत पत्रको सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभइ आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर नागरिकलाई जानकारी दिन मात्र खोजिएको स्पष्ट गर्नुभयो । ‘यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन । आफूले देखेको कुरा भन्ने हो । जे छ त्यही प्रष्ट राख्ने हो ।’

आफूलाई अहिले नागरिकका अपेक्षाको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले थप्नुभयो, ‘मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर विषय विज्ञ एवम् तपाईँहरू सबैको सुझाव र नागरिककाे आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु ।’ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हिसाबले पहलकदमी अघि बढाइने सोच रहेको बताउनुभयो ।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको जानकारी दिँदै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहनत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । पत्रकारहरूलाई सूचनामा सहज पहुँच दिलाउन अर्थ मन्त्रालय सदैव तयार रहेको भन्दै सचिव ढुङ्गानाले निर्णय भइ नसकेको विषयमा बोल्न उपयुक्त नहुने भएकाले त्यस्तो बेला प्रतिक्रिया दिनका लागि दबाब नगरिदिन आग्रह गर्नुभयो ।   

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया