कांग्रेसकाे क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

 साउन १५, २०७८ शुक्रबार १८:४६:१९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा बाँकी विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेताहरू विवाद समाधानमा जुटेका छन् । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको हिजाे बिहीवारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । 

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीवार बैठकमा परिमार्जनसहितको प्रतिवेदन बुझाए पनि क्रियाशील सदस्यतामा केही विवाद बाँकी नै छन् । विवाद समाधानका लागि आज शुक्रवार बिहानदेखि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता छलफलमा जुट्नुभएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

नेतृत्व तहले बाँकी विवाद समाधान गरी पार्टीको केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ । बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजन तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई दिनुपर्ने सदस्यताका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीलगायत जिल्लाका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

कांग्रेसले १४ औँ महाधिवेशन आउँदाे भदौ १६ देखि १९ गतेसम्म काठमाण्डाैमा गर्ने कार्यतालिका तय गरेको छ । यद्यपि क्रियाशील सदस्यताको काम बाँकी रहेका कारण यही साउन १२ गतेको गाउँ/नगर वडा अधिवेशन प्रभावित भइसकेको छ । 

कांग्रेसले यसअघि गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकेको थियो । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया