ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
बझाङ – पछिल्लो समय बझाङका लेकाली वन मासिँदै गएका छन् । लेकाली वन तथा झाडीहरु फडानी हुने क्रम बढ्दो छ । उराठ देखिन थालेका छन् डाँडाकाँडा ।
वैशाख देखि असार सम्म यार्सागुम्बा सङ्कलनका लागि र भदौ देखि मंसिर सम्म यहाँका जङ्गलमा अन्य जडीबुटी खोज्न मानिसहरु लेकाली वन क्षेत्रमा पुग्ने गर्दछन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी सङ्कलन गर्न हिमाली क्षेत्रमा जानेको संख्या बढ्दै गएको छ । हरेक वर्ष बझाङमा यार्सा सङ्कलनका लागि मात्रै ४८ हजार भन्दा बढी मानिसहरु लेकतिर जाने गरेका छन् । जडीबुटी सङ्कलन गर्न जानेहरुले दाउराको लागि जथाभाबी वन फडानी गर्दा हिमाली वन मासिदै गएको छ ।
बुंगल नगरपालिकाको हिमाली भेगमा पर्ने थानपाटन, धौलाढुंगा, चुपी, ठाडीगाड, भिडेगडा लगायतका क्षेत्रमा पर्ने वन उजाडिइसकेको छ । साइपाल गाउँपालिकाको माझा, फरालखेत, राइढुगी, औंलागाड, स्याङवन दोतले, इंगलदार लगायतका ठाउँको ठूलो वन क्षेत्र पनि मासिदै जान थालेको छ । सुर्मा गाउँपालिका अन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, जर्सी, गोलढुंगालगायतका वनको अवस्था पनि उस्तै छ ।
बुङ्गल नगरपालिका २ लौनेका दले धामी यार्सा टिप्न र भेडाबाख्रा चराउन धौलाढुङ्गा, थानपाटन, चुफी भिडेगडा जान थालेको दुई दशक भयो । उमेरले ६५ काटेका धामी अझै पनि भेडाबाख्रा चराउन लेकाली वन तिर जानुहुन्छ । तर केही वर्ष यता यार्सा टिप्न र भेडाबाख्रा चराउन जान दिक्क लाग्न थालेको उहाँ दुखेसो पोख्नुहुन्छ ।
‘भेडाबाख्रा चराउनको लागि चाहिने भोजपत्र, चिमाल, लगायतका रुखहरु भएका लेकाली वन सखाप भएका छन् । नजिकै दाउरा पनि पाउँदैन’, उहाँले भन्नुभयो, ‘उराठ डाँडाकाँडयामा के खुवान लिएर जाने र भेडालाई ?’
गएको वर्षको वैशाख देखि असार सम्म जडीबुटी सङ्कलन गर्न ५१ हजारभन्दा बढी जनाले साइपाल, सुर्मा, छबिसपाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको वन क्षेत्रमा प्रवेश गरेका थिए । यस वर्ष कोरोना माहामारीका कारण यार्सा सङ्कलन कार्य प्रभावित हुँदा लेकतिर जानेको संख्या घट्यो । यस वर्ष पनि २० हजारको हाराहारीमा मानिसहरु यार्सा सङ्कलन तथा जडिबुडी सङ्कलनका लागी हिमाली वन क्षेत्रमा गएका थिए ।
सङ्कलनको समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करिब १५ हजार त्रीपाल हाल्छन् । यार्सा तथा जडीबुडी सङ्कलनकर्ताहरुले सुरुमै एक हप्ता जति दाउराका लागि जङ्गल फडानी गर्ने गर्छन् । हिमालमा पाइने भुइँचिमालो, भोजपत्र, चिमालो, चाँप, धुपी, कालोभोज लगायतका रूख र झाडी प्रजातिका बिरुवा काटेर दाउरा बनाउने गरेका छन । सङ्कलनकर्ताहरुले तीन महिनासम्म पुग्ने दाउराको जोहो गरिसकेपछि मात्र सङ्कलनको काम सुरु गर्ने गरेको संकलकहरूको भनाइ छ ।
वैशाखदेखि असारसम्म यार्सा सङ्कलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जङ्गलमा अन्य जडीबुटी खोज्न मानिसहरु लेकाली वन क्षेत्रमा पुग्ने गर्दछन । जटामसी, कटुकी, सेतकचिनी, भुतकेसलगायत जडीबुटी सङ्कलनका लागि बझाङका स्थानीयलगायत रुकुम, रोल्पा, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बाजुरा लगायतका जिल्लाबाट समेत सयौंको संख्यामा मानिसहरु बझाङका लेकाली वनमा अस्थायी क्याम्प खडा गरेर बस्ने गर्छन् । खाना पकाउन र आगो ताप्न भन्दा बढी दाउरा जडीबुटी पकाउन प्रयोग हुने गर्छ ।
सेतक चिनी पकाउनका लागि सिंगै रूख काटेर भट्टीमा लगाइन्छ । सुकेको दाउरा पाउन छोडेपछि आलै रूख काटेर बाल्ने गरिएको साइपालका कम्मान बोहराले बताउनुभयो ।
‘आजकाल सुकेको दाउरा पाउनै छोड्यो । नपाएपछि आलै दाउरा काटेर जोतिन्छ । सुरुमा भट्टीमा आगो बाल्न मात्र समस्या हो, एकपटक सल्किएपछि आलै रूख पनि राम्ररी बल्छ’, उहाँले भन्नुभयो, ‘पहिले डेरा नजिकै दाउरा पाइन्थे । तर अहिले दाउराकै लागी दुई घण्टा भन्दा बढी हिँड्नुपर्छ ।’
जडीबुटी सङ्कलन गर्न जानेहरुले जथाभाबी वन फडानी गर्ने गरेको र नियमन निकायले चासो नदिँदा हिमाली वन नासिँदै गएको उहाँको भनाइ छ ।
तीव्र गतिमा वन दोहन हुँदै जाँदा यसले वातावरणमा प्रतिकूल असर पार्छ । जिल्लाको वन विनाश रोक्ने जिम्मेवार निकाय डिभिजन वन कार्यालय हो । वन डिभिजन कार्यालय बझाङले कर्मचारीहरुलाई फिल्डमा खटाउने, कहिलेकाहीँ वृक्षारोपण गर्नेबाहेक नीतिगत काम गरेको देखिँदैन ।
डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्ण कठायतले वन विनाश रोकथामको लागि कर्मचारीहरुलाई फिल्डमा खटाउने र वृक्षारोपण गर्दै आएको बताउनुभयो । साथै कार्यालयबाट विभिन्न प्रचार प्रसार गर्ने र सचेतना फैलाउने काम पनि गरिएको उहाँको भनाइ छ ।
पछिल्लो समयमा वन जङ्गल जोगाउनकै लागि यार्सा पाउने क्षेत्र भन्दा तल सरकारी वनलाई सामुदायिक वन बनाएर जङ्गल संरक्षणतर्फ आफूहरु लागेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।