झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकाका तीन जिल्ला काठमाण्डाै, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकाले नागरिकमा कोरोना सङ्क्रमणको तेस्रो लहर आएको हो कि भन्ने त्रास उत्पन्न भएको छ । उपत्यकाका जिल्ला प्रशासनले हिजाे मङ्गलवार आउँदाे बिहीवारदेखि लागू हुने गरी राति आठ बजेदेखि रातिकाे समयमा अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक गाडी चलाउन नपाउने निर्णय गरेको थियो । याे निर्णयपछि नागरिकमा कोरोनाको तेस्रो लहर आएको हुन सक्ने अनुमान लगाउँदै त्रास निम्तिएकाे छ । यसै विषयमा केन्द्रित रहेर हामीले काठमाण्डाै जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीसँग कुराकानी गरेका छाैँ । प्रस्तुत छ प्रजिअ पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश–
मङ्गलवार काठमाण्डाै उपत्यकाका तीन जिल्ला प्रमुखले गर्नुभएको निर्णय के हो ?
हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ । हामीले निरन्तरता नै दिएका छौँ । फेरि भदौ ८ गतेसम्म केही क्षेत्रलाई हामीले सीमित गरेका छौँ । हामीले अहिले दुई/तीन वटा कुरामा जोड दिएका छौँ । एउटा पूर्णरूपमा निषेध गरिएका विषयहरू छन् । त्यसमा सबै प्रकारका सभा–सम्मेलन, खुला ठाउँमा भेला हुने, भिडभाड गर्न नहुने र केही क्षेत्र खोल्न नपाइने छ ।
अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छोडेका विषयहरू पनि छन् । र अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो । बीचको दुई महिनादेखि हामीले केही क्षेत्र खुलाएको अवस्था छ । तर पछिल्लो चरणमा हिजो/अस्तिको तथ्याङ्क हेर्ने हो भने कोरोनाको सङ्क्रमण दर बढ्दै गइरहेको छ । सङ्क्रमण दर बढेको छ, निको हुने दर घटेको छ । मृत्युदर पनि बढ्न थालेको अवस्था छ । अस्पतालमा बिरामीको चाप अहिले बढेको देख्न सकिन्छ । त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ । एकै पटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला केही गर्नुपर्छ भनेर अनुगमनको रूपमा केही निर्णयहरु गरेका हौँ ।
हिजो म आफैँ पनि अनुगमनमा निस्किएँ । सार्वजनिक गाडीमा मास्क लगाएका छन् कि छैनन्, मल–पसलमा पनि भिडभाड कत्तिको छ ? भनेर बुझ्न हामी निस्किएका थियौँ । मास्क धेरैले लगाएको नै देख्यौँ । नलगाएकालाई हामीले बाढ्यौँ पनि । अब जरिबाना तिराउन पनि सुरु गरेका छौँ । सङ्क्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरू पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो । त्योअनुसार हामी यो बीचमा बसेर काम गरिरहेका छौँ । धेरैजसाे यसअघिकै निर्णयहरू छन् ।
अनि बेलुका आठ बजेपछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?
हिजो हामीले थप एउटा गरेको छौँ, रात्रिकालीन व्यवसायको कारणले होटल, रेस्टुरेन्ट, टेक–वे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासा आए । मानिसहरू बाहिरै बसेर खाइरहेका छन् । रेस्टुरेन्ट खुलिरहेका छन्, होटलका कर्मचारीले पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भिडभाडजन्य गतिविधि रोक्नलाई नै यस्ताे निर्णय गरेका हाैँ ।
मास्क खोलेर हुने गतिविधि छ, बेलुकाको खानपिनको कार्यक्रममा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबै जना राति आठ बजेभित्र आ–आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ । त्यसमा अत्यावश्यक सेवाका गाडी चल्न पाउँछन् । गिटी, बालुवा, निर्माणजन्य सामग्रीको ढुवानी गर्न राति दिइएको छ । बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडी पनि चल्न पाउँछन् । जस्तै:– जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिति नआओस् भनेर उपत्यका आउने/जानेलाई पनि सहजीकरण गरिदिनु भनेका छौँ । सबै निजी र सार्वजनिक गाडी आठ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलब रात्रिकालीन व्यवसायमा, माहोलमा भिडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो । यसमा पनि हिजो हामीले आदेश जारी गर्याैँ ।
यसमा केही सुझाव हामीलाई प्राप्त भएको छ । राति कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भिडभाडमा कोरोना नलाग्ने राति लाग्ने ? भन्ने प्रश्न पनि आएको छ । हाम्रो मुख्य उद्देश्य गाडी रोक्ने होइन तर भिड गर्दै मोटरसाइकल पार्किङ, गाडी पार्किङ गरेर रेस्टुरेन्टतिर खाने प्रवृत्ति धेरै देखियो, मास्क नलगाउने प्रवृत्ति देखियो, त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ । त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो । अरू पहिलेकै अनुसार नै छ । तर अब काठमाण्डाै रेड जोनमै पुगिसकेकाे छ भन्ने स्वास्थ्य विज्ञहरूको रिपोर्ट आइराखेको छ । यो आदेश जुनसुकै बेला पनि पुनरावलोकन हुन सक्छ । हामी दिन प्रतिदिन डाक्टरहरूसँग, स्वास्थ्य मन्त्रालयसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो । अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ । अक्सिजन नपुगेर कोही व्यक्तिको पिक टाइममा ज्यान गयाे तर त्यसमा अहिले सुधार आएको छ । बेडमा अलिकति चाप भएकाले त्याे थप गरेको हो ।
अनुगमन गर्दा गर्दै पनि सेवाग्राहीले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन, यसमा के भन्नुहुन्छ ?
हरेक ठाउँमा हरेक निकायको जिम्मेवारी हुन्छ । यहाँ पनि सेवाग्राही आउनुभएको छ, म बेला–बेलामा गएर आफैँ हेरिरहेको हुन्छु । मास्क नलगाएकालाई मास्क लगाउनुस् भनिरहेका छौँ, भिड गर्नेलाई अलिकति दुरी कायम गरेर बस्नुस् भनिरहेका छौँ, यो सबैले पालना गर्नुपर्ने हुन्छ । सेवा प्रदायक संस्थाहरूले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्याे । नागरिकले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुपर्याे । मास्क कसरी लगाउने, भरसक सम्भव भएसम्म भिडभाडजन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दुरी कायम गरेर बस्नुपर्ने हुन्छ ।
हरेक कार्यालयले टोकन दिने सिस्टम लागू गरे राम्रो हुन्छ । विद्युत् प्राधिकरण, दूरसञ्चार, खानेपानीतिर यो सम्भव हुन्छ तर हाम्रो यो नागरिकता वितरणको कार्य छ, त्यसमा एउटा व्यक्ति पटक–पटक सम्पर्कमा हुनुपर्छ, सनाखत गराउनुपर्याे, कार्डमा ल्याप्चे गर्नुपर्याे, त्यसमा समस्या हुन्छ । मैले यहाँ पनि टोकन सिस्टम लागू पनि गरेँ तर व्यावहारिक रूपमा त्यति कार्यान्वयन गर्न सकिएन । त्यो भएको हुनाले भिडभाडजन्य गतिविधि रोक्नका निम्ति सेवा प्रदायक संस्थाले पनि ध्यान दिनुपर्याे र नागरिकले पनि त्यत्तिकै ध्यान दिनुपर्याे ।
हामी अनुगमनमा पनि निस्किएका छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सीडीओअरूलाई आजदेखि नै दिनमा बिहान, दिउँसाे र बेलुका गरी तीन पटक अनुगमन गर्न भनेको छु । अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिबाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु । हामीले गरिरहेका छौँ तर नागरिकहरु र सबै क्षेत्रबाट सरोकारवाला संस्थाको सहभागिता विना यो सम्भव छैन । प्रहरीको गाडी जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेस्टुरेन्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले काेराेना सङ्क्रमण नियन्त्रण हुँदैन । प्रहरीको संलग्नता कति क्षेत्रमा गराउने ? अहिले खोप व्यवस्थापनमा प्रहरी, परीक्षाको सुरक्षामा प्रहरी, जुलुस व्यवस्थापनमा प्रहरी, हरेक ठाउँमा सीमित प्रहरी हुन्छ । काठमाण्डाैमा ३०/४० लाख जनसङ्ख्याकाे पछाडि प्रहरी लगाएर साध्य हुने पनि होइन । हामीले अनुगमन गर्ने भन्दा पनि व्यक्ति स्वयम् नै सचेत हुनुपर्छ । यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।
काठमाण्डाै उपत्यकामा राजनीतिक दलहरूबाट भइरहेका अवरोध तथा नारा, जुलुसलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?
हामीले अहिले राजनीतिक दलहरूलाई पनि अनुरोध गरेका छौँ । यो बीचमा मैले एउटा स्टेटमेन्ट पनि निकालेँ । सभा, जुलुस नगर्नुस् भनेर । त्यसपछि अलि कम भएको छ र हामीले यो सबैको विषय हो, सबै जिम्मेवार नै हुनुपर्छ, अहिले जुलुस–सभा गर्ने अवस्था होइन भनेर अनुरोध गर्याैँ । अनुमति कसैलाई दिएका छैनौँ । र हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ, त्यहाँ प्रहरीले लाठी चार्ज गर्ने कि नगर्ने ? शान्ति, सुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरूलाई हामीले भनेका छौँ, मानिराख्नु भएको पनि छ । कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, नागरिक सबैको दायित्व हुन्छ । अब आउँदा दिनमा त्यस्ता गतिविधि नहोला भन्ने अपेक्षा गरेका छौँ ।
कोरोना महामारी बढ्दै गयो भने त्यसको विरुद्ध लड्न कस्तो तयारी छ ?
अब अहिले त प्रमुख तयारी अक्सिजन नै हो । अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकाले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ । प्रमुख समस्या भनेको अहिले खोपको हो । खोपको माग र आपूर्तिको बीचमा दुरी छ । धेरैलाई खोप लगाउनुपर्ने छ । खोपको मात्रा कम आइरहेको छ । त्यो भएको हुनाले भिडभाड हुने, सबै नागरिकले खोप पाउने/नपाउने सुनिश्चितता नहुँदा नै भिड भएको हो । त्यसका लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ र स्वास्थ्य सामग्रीका लागि पनि सम्बन्धित निकायलाई भन्नुपर्छ । यो स्वास्थ्य मन्त्रालयले नै गर्छ तर पनि भन्नुपर्छ । अक्सिजन प्लान्टका लागि दिनदिनै जानकारी लिइरहेको छु, अवस्था के छ, तयारी अवस्थामा हुनुपर्याे भनेर । त्यस्तो भयावह आत्तिहाल्नुपर्ने अवस्था होइन तर अहिले हामीले लापर्बाही गर्दै गयौँ, हेलचेक्रयाइँ गर्दै गयौँ भने गाह्राे हुन्छ । बीचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिको ज्यान गयाे र त्याे अवस्थामा नपुग्नका लागि हामी आफू पनि सचेत हुनुपर्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।