चियाको नालिबेली : बगानदेखि बजारसम्म

 माघ २३, २०८१ बुधबार ८:५५:५२ | महेश ज्ञवाली
unn.prixa.net

बोटदेखि ओठसम्म आइपुग्दा चियाले विभिन्न चरण पार गरेको हुन्छ । सबैभन्दा पहिले नर्सरीमा बिरुवा हुर्कान्छ र बगानमा रोपिन्छ । चियाको बोटले उत्पादन दिन थालेपछि यसको पात टिप्ने प्रक्रिया शुरू हुन्छ ।

पहिलो पटक रोपिएका बिरुवाले कम्तीमा तीन वर्षपछि मात्र उत्पादन दिन थाल्छन्, जबकि पुराना बिरुवाबाट हरेक पाँच महिनामा चिया तयार हुन्छ । चियाको पात टिपेपछि प्रशोधन गरिन्छ । अनुकूल तापक्रममा सुकाएर यसको स्वाद सुरक्षित राखिन्छ, अनि प्याकिङ गरी बजारमा पठाइन्छ ।

सबैभन्दा पहिले चिया खेतीको प्रसङ्ग । चिया खेतीका लागि पानी नजम्ने पहाडी भेग उपयुक्त मानिन्छ । चिया विज्ञ किसान तथा विक्रेता उदय चापागाईँका अनुसार नेपालमा चिया खेतीका लागि ६० मिटरदेखि ६ हजार मिटरसम्मको ठाउँ उपयुक्त मानिन्छ ।

चिया खेतीको अर्को महत्त्वपूर्ण पक्ष चियाका बिरुवा उत्पादन गर्नु हो । चियाका बिरुवा उत्पादनका लागि दुई मुख्य विधिहरू छन् । पहिलो, बीउबाट बिरुवा उत्पादन गर्ने विधि हो, जसमा चियाको बीउ छरेर त्यसलाई उचित वातावरणमा हुर्काइने गरिन्छ । दोस्रो कलमी प्रविधि हो, जसमा राम्रो गुणस्तरको चियाका बोटबाट हाँगा काटी नयाँ बिरुवा उत्पादन गरिन्छ ।

चियाविज्ञ उदय चापागाईँका अनुसार बिरुवा उत्पादनको पारम्परिक विधि भनेको बीउबाट बिरुवा उमार्ने प्रक्रिया हो । जब चियाको बोट फुल्छ, त्यसबाट बीउ निस्कन्छ । बीउ संकलनपछि तिनलाई नर्सरीमा रोपिन्छ । केही महिनापछि ती बीउबाट साना बिरुवा बन्न थाल्छन् । बिरुवा तयार भएपछि रोप्नका लागि तयार गरिन्छ । तर बीउबाट बिरुवा उत्पादन गर्न लामो समय लाग्छ ।

कलमी प्रविधिबाट बिरुवा उत्पादन गर्दा चिया बोटको एक भाग काटेर नयाँ बिरुवा तयार गरिन्छ । कलमी प्रक्रियाका लागि सही माउ बोट (मदर बुस) छान्नु आवश्यक हुन्छ । माउ बोट भन्नाले स्वस्थ, राम्रो उत्पादन दिने, रोग प्रतिरोधी तथा गुणस्तरीय चिया पत्ता उत्पादन गर्ने मूल बिरुवालाई जनाउँछ । यसबाट नै नयाँ चियाका बिरुवा तयार गरिन्छ ।

चियाका बोटहरू देख्नमा उस्तै लागे पनि तिनका मूल प्रजाति (मदर बुस) विभिन्न हुन्छन् । नेपालमा प्रचलित केही मुख्य मूल प्रजातिका बिरुवाहरुमा तक्दा ७८, ए–३१२ (फुकाम्बरी ३१२), घुम्टी र एबी आदि हुन् ।

नेपालमा चिया खेतीका लागि फुकाम्बरी ३१२ (ए ३१२) लाई उत्कृष्ट मानिन्छ । यस प्रजातिले उच्च गुणस्तरीय चिया उत्पादन मात्र होइन, दीर्घकालीन उत्पादन क्षमतासमेत राख्छ । यसको आयु लामो हुने भएकाले निरन्तर उत्पादनका लागि उपयुक्त मानिन्छ ।

कलमीका लागि तीनदेखि पाँच वर्षसम्म हुर्किएको मदर बुस उत्तम मानिन्छ । मूल प्रजातिबाट उत्पादन भएको चिया टिपिँदैन, किनभने यसको उद्देश्य कलमीका लागि मात्र प्रयोग गर्नु हो ।

कलमी गर्दा डाँठमा धेरै चोट नलाग्ने गरी धारिलो ब्लेड वा कैँची प्रयोग गरी ४–६ इन्च लम्बाइका हाँगा काट्नुपर्छ । हरेक कलमीमा ३–४ वटा पातहरू हुनु आवश्यक हुन्छ । यसरी काटिएका हाँगाहरूलाई प्लास्टिकको झोलामा माटो हालेर सुरक्षित रूपमा नर्सरीमा राखिन्छ । बिरुवा करिब ६–१२ महिना नर्सरीमा हुर्केपछि मात्र सार्न उपयुक्त हुन्छ ।

बिरुवा रोप्नुअघि माटो राम्रोसँग गोडमेल गरी नरम बनाउनुपर्छ । जैविक मल प्रयोग गर्दा बिरुवाले राम्रो उत्पादन दिन्छ । छायाँ र घामको सन्तुलन मिलेको ठाउँमा चिया खेती राम्रो हुन्छ ।

चिया विज्ञ उदय चापागाईँका अनुसार चिया असार, साउन र भदौ महिनामा बिरुवा रोप्न उपयुक्त हुन्छ । बिरुवा १२ देखि १९ इञ्चको भएपछि रोप्नको लागि तयार हुन्छ । रोप्नको लागि खाल्डो करिब डेढ फिट गहिरो र एक फिट चौडा हुनुपर्छ । एक बिरुवाबाट अर्को बिरुवासम्मको दूरी करिब दुईदेखि साढे दुई फिटसम्म राख्नुपर्छ । खाल्डोमा कमलो माटो हालेर, कागजले बेरेको बिरुवा जरामा असर नपर्ने गरी सावधानीपूर्वक रोप्नुपर्छ ।

एउटै बोटबाट वर्षौँसम्म उत्पादन

पहाडमा झण्डै पाँच वर्ष र तराईमा तीन वर्षपछि चियाको बोटबाट पात टिप्न मिल्छ । नयाँ पलाएको पहिलो चरणको चियाको कोपिला गुणस्तरीय मानिन्छ र यसबाट उत्पादित चियाको स्वाद र सुगन्ध राम्रो हुन्छ । नयाँ बोटबाट पलाएको पहिलो चिया उच्च मूल्यमा बिक्री हुने गर्छ, जसलाई बजारमा किलोको तीन सय रुपैयाँदेखि २८ हजार रुपैयाँसम्म पर्छ ।

बोटबाट उत्पादन शुरू भएपछि हरेक वसन्त ऋतुमा नयाँ कोपिला पलाउन थाल्छ । त्यसपछि चैत, वैशाख, जेष्ठ, असार र साउन महिनाभरि एक–एक हप्तामा नयाँ मुना टिप्न मिल्नेगरी उत्पादन हुन्छ । हरेक ७ देखि १५ दिनको अन्तरमा नयाँ टुसा पलाएपछि त्यसलाई टिप्नुपर्ने हुन्छ । एक वर्षमा २२ देखि २८ पटकसम्म टिप्न सकिन्छ । एक वर्षमा एउटा बोटबाट झण्डै तीन सय ग्राम चिया उत्पादन हुन्छ ।

चिया विज्ञ उदय चापागाईँका अनुसार कात्तिकदेखि माघ महिनासम्म चियामा नयाँ मुना पलाउँदैन । यस अवधिमा चिया बगानमा गोडमेल गर्ने र जैविक मल हाल्ने गर्नु पर्छ । एकपटक रोपेपछि चियाको बोटले वर्षौँसम्म उत्पादन दिन्छ । दार्जिलिङमा अहिले दुई सय वर्ष पुराना चियाका बोट पाइन्छन् । नेपालमा पनि एक सय ६१ वर्ष पुराना चियाका बोटहरू छन् । तर, चियाले राम्रो र गुणस्तरीय उत्पादन दिने अवधि साधारणतया ६० वर्षसम्मको मानिन्छ । 

चिया टिप्ने विशेष विधि र प्रविधि

चिया पात टिप्दा यसको गुणस्तर कायम राख्न विशेष विधिहरू अपनाइन्छ । हातले टिप्ने पुरानो तरिका र आधुनिक मेसिनको प्रयोग । उच्च गुणस्तरको चिया प्रायः हातैले टिपिन्छ, जसले यसको स्वाद र गुणस्तरलाई अझ बढी राम्रो बनाउँछ । विशेष गरी, ‘दुई पात र एक स्वइरो’ नियम अनुसार, चिया टिप्दा केवल दुई पात र एउटा कोपिला मात्र टिपिन्छ, जसले गर्दा चियाको सुगन्ध र स्वाद रहन्छ ।

ठूलो परिमाणमा चिया उत्पादन गर्ने बगानहरूमा हातले चलाउने कैँची र मेसिन प्रयोग गरिन्छ । मेसिन प्रयोग गर्दा समय र श्रमको बचत मात्र हुँदैन, उत्पादन लागत पनि कम गर्न सकिन्छ । तर, मेसिनले टिप्दा कहिलेकाहीँ अनावश्यक भागहरू काटिन सक्छ, जसले चियाको गुणस्तरमा ह्रास ल्याउन सक्छ ।

चियाको प्रशोधन

चियालाई टिपेपछि हावा छिर्ने डोकोमा राखेर वा नखाँदी राखेर प्रशोधन केन्द्रमा पुर्‍याइन्छ । प्रायः चिया बगान नजिकै प्रशोधन केन्द्रहरू स्थापना गरिएका हुन्छन् । प्रशोधनको पहिलो चरणमा टिपिएको ताजा चिया पातलाई खुला हावामा राखेर केही घण्टा सुकाइन्छ, जसलाई विथरिङ भनिन्छ । यो प्रक्रिया प्रायः १२ देखि १८ घण्टासम्म गरिन्छ, जसले पातमा रहेको ७० प्रतिशत पानी हटाउँछ ।

सुकाएपछि चिया पातलाई रोलिङ गरिन्छ, जसले पातलाई चियाको आकार दिन्छ । त्यसपछि अक्सिडेसन (फर्मेन्टेसन) प्रक्रिया हुन्छ, जसले चियाको रङ र स्वाद निर्धारण गर्छ । कालो चिया उत्पादन गर्न अक्सिडेसनको समय बढी राखिन्छ भने हरियो चिया उत्पादन गर्न यो प्रक्रिया छोटो हुन्छ ।

अक्सिडेसनपछि चियालाई सुक्खा गर्ने प्रक्रिया गरिन्छ । यस चरणमा, पातलाई ८० देखि ११० डिग्री सेल्सियस तापक्रममा २०–३० मिनेटसम्म तताइन्छ, जसले पातलाई खपतयोग्य बनाउँछ र यसको सुगन्धलाई टिकाइराख्छ ।

तराईको सिटिसी चिया विशेष रूपमा प्रशोधन गरिन्छ । यहाँ चियाका पातलाई पहिलो चरणमा विथरिङ गरेर १२–१८ घण्टासम्म सुकाइन्छ । त्यसपछि रोलर मेसिनमार्फत पिसेर साना टुक्रा बनाइन्छ ।

त्यसपछि, अक्सिडेसन गरिन्छ, जसमा पातलाई ३० दखि ९० मिनेटसम्म खुला छोडिन्छ, जसले चियाको रङ्ग, स्वाद र सुगन्ध बढाउँछ । अक्सिडेसनपछि, पातलाई ८० देखि ११० डिग्री सेल्सियस तापक्रममा सुकाइन्छ । अनि चियाको पातलाई छानेर आकारअनुसार वर्गीकरण गरिन्छ ।

नेपाल चिया सङ्घका अध्यक्ष तथा चिया बिक्रेता कमल मैनालीका अनुसार बिक्रेताले चियाको गुणस्तर, स्वाद, रङ्ग र चियाको छोकराको आधारमा मूल्य निर्धारण गर्छन् । चियालाई आकार र गुणस्तरअनुसार वर्गीकरण गरिन्छ र त्यसपछि प्याकिङ गरेर बजारमा पठाइन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता दीपक खनालका अनुसार आसामी र कम्बोडियाली प्रजातिका चियाका बिरुवा सिटिसी चिया उत्पादनको लागि प्रयोग गरिन्छ, जबकि चिनियाँ प्रजातिको चिया मुख्यतः अर्थोडक्स चिया उत्पादनमा प्रयोग हुन्छ । सिटिसी चिया र अर्थोडक्स चिया, दुवैबाट थरिथरिका प्रकारका चिया तयार गरिन्छ ।

चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिब करिब विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ । त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ ।

३२ जिल्लामा चियाको व्यवसायिक उत्पादन

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका अनुसार नेपालका इलाम, झापा, पाँचथर, धनकुटा, ताप्लेजुङ र लमजुङ जस्ता ठाउँहरु चियाको प्रमुख उत्पादक क्षेत्रका रूपमा परिचित छन् । यहाँको उष्ण–समशीतोष्ण मौसम, उर्वर माटो र उचाइले उत्कृष्ट गुणस्तरको चिया उत्पादन गर्न उपयुक्त मानिन्छ । तर, पूर्व मेचीदेखि गण्डकीसम्मका मध्यपहाडी क्षेत्रमा चियाको व्यवसायिक खेती हुने गरेको छ ।

नेपालको चिया उत्पादन क्षेत्र शुरूमा पाँच जिल्लासम्म सीमित थियो, तर अहिले ३२ जिल्लामा फैलिएको छ । इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, कास्की, रामेछाप, नुवाकोट, लम्जुङ, गुल्मी, सोलुखुम्बु, उदयपुर, ओखलढुङ्गा, खोटाङ, चितवन, म्याग्दी, सिन्धुली, पर्वत, काभ्रेपलाञ्चोक, गोरखा, ललितपुर, प्यूठान, अर्घाखाँची र कालीकोटमा चियाको व्यवसायिक खेती हुने गरेको छ । देशभर झण्डै १५ हजार किसान चिया उत्पादनमा संलग्न छन् ।

नेपालमा हरेक वर्ष लगभग दुई करोड ६४ लाख मेट्रिक टन चिया उत्पादन भइरहेको छ ।  नेपाली चिया भारतसहित युरोप, क्यानडा, जर्मनी,  जापान, चीन लगायतका देशहरुमा समेत निर्यात हुन्छ । चियाबाट वार्षिक तीन अर्ब ९४ करोड रुपैयाँको आम्दानी भइरहेको बोर्डको तथ्याङ्क छ । 

यो पनि पढ्नुहोस् :

चियाको इतिहास : बोटदेखि ओठसम्म

चियाको चुस्कीसँगै देशको चिन्ता र नयाँ कामको योजना

थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी

कमाइ गर्ने ठाउँ र जीवन बुझ्ने पाठशाला पनि हो चियापसल

अनौठा नाम र फरक शैलीका चियापसल

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया