कोरोनाविरुद्धको खोप किन्न एडीबीसँग १९ अर्ब ५८ करोड रुपैयाँको ऋण सम्झौता

 साउन २७, २०७८ बुधबार १६:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज बुधवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा अर्थ सचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एसियाली विकास बैंकको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उहाँले यसमा एसियाली विकास बैंकको ऋण सहायताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  

एडीबीका देशीय निर्देशक कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवम् सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड १९ सङ्क्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आउँदा दिनमा समेत निरन्तरता दिने आश्वासन दिनुभयो ।  

याेसँगै एसियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया