काठमाण्डौका पाँच ठाउँबाट विद्यार्थीले खोप पाउने

 साउन २८, २०७८ बिहिबार १०:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीले आजैदेखि खोप पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ । 

सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाण्डौमा आजदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिने उहाँले उज्यालोलाई जानकारी दिनुभयो । 

स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख बद्रीबहादुर खड्काअनुसार निजामती अस्पताल, प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधा स्वामी आइसोलेशन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । 

आज, भोलि र पर्सि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खोप लगाउन पाइने र खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने उहाँले बताउनुभयो । काठमाण्डौ बाहिर पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले परीक्षार्थीका लागि खोपको व्यवस्था गर्ने खोप शाखाले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरु विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् । 

परीक्षा केन्द्रमा भीड बढ्दै गएपछि विद्यार्थीहरुले खोपको माग गरेका थिए । विद्यार्थीको माग अनुसार सरकारले विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीका लागि खोपको व्यवस्था गरेको हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ajit Gharti

    Aug. 14, 2021, 7:55 a.m.

    विद्यार्थीलाई कुन खोप लगाउँछ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया