कानुन लगाएर हाेइन करदाता आफैँले कर तिरुँ–तिरुँ लाग्ने वातावरण बनाउन अर्थ मन्त्रीकाे निर्देशन

 साउन २८, २०७८ बिहिबार १८:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको छ । बिहीवार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न भन्नुभएको हो ।

‘चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस्, राजस्व सङ्कलन बढाउन सकिने उपायहरू तपाईँ आफैँ फेला पार्नुहुनेछ’, उहाँले भन्नुभयो ‘त्यसका लागि तपाईँलाई के चाहिन्छ ? जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ, त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नैपर्छ ।’  

उहाँले करदातालाई कानुन लगाएर कर तिराउने नभइ करदाता आफैँले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । ‘करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के–के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्’, मन्त्री शर्माले भन्नुभयो, ‘हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।’

मन्त्री शर्माले समग्र देशको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । ‘कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाब खोइ ? नागरिकसँग भएको सम्पत्ति के–कति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के–कति हो ? यसको हिसाब गर्ने योजना पनि चाहियो’, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताउनुभयो । राजस्व समूहका कर्मचारीले १०–५ को ड्युटी गरेर नपुग्ने भएकाले त्यहीअनुसार थप जाँगर चलाएर काममा खटिन उहाँले निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभाग अन्तर्गतका ८४ वटा कार्यालयले राजस्व सङ्कलनमा देखिएका समस्याको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायसमेत निकाल्न भन्नुभयो । प्रविधिको माध्यमबाट सबै राजस्व कार्यालयलाई  यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन सचिव मरासिनीले निर्देशन दिनुभयो । विसं २०५४ देखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जीडीपीको नौ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित गर्न विलिङ प्रणालीमा एकीकृत गर्न आग्रह गर्नुभयो । देशका विभिन्न ठाँउमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उहाँले सबै कार्यालयलाई लक्ष्यअनुसारको काम गर्न निर्देशन दिनुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/०७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिनुभयो । गएको वर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व सात प्रतिशत र अन्यबाट दुई प्रतिशत राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ का लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकोमा ४२९ अर्ब सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि ५२२ अर्ब राजस्व सङ्कलनको लक्ष्य तोकिएको छ । 

यस्तै गएको असारसम्म ४० लाख ६६ हजार एक सय ३१ जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने दुई लाख ९० हजार सात सय १४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् । व्यवसायीहरू करको दायरामा औपचारिक रूपले आबद्ध रहेको भए पनि वार्षिक विवरण नबुझाउनेको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताउनुभयो । कर कार्यालयमा दर्ता भइ वार्षिक विवरण नबुझाउनेहरू आर्थिक वर्ष २०७४/०७५ मा ३३ दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०७५/०७६ मा ३७ दशमलव ५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा यो सङ्ख्या बढेर ४२ दशमलव ९२ प्रतिशत पुगेको छ ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया