केपी ओलीले साेधेका प्रश्नकाे उत्तर सरकारले कामबाट दिनुपर्छ : गगन थापा

 साउन २८, २०७८ बिहीबार १९:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराउनुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारकाे बैैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा भए पनि प्रश्न–प्रश्न नै भएको भन्दै एक–एक उत्तर दिन सरकारलाई आग्रह गर्नुभएको हो । 

गएकाे साउन २६ गते प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा दिएको अभिव्यक्ति तथा प्रश्नमा आत्मश्लाघा (आफैँले गरिने आफ्नाे प्रशंसा), अहङ्कार, क्रोध, ईर्ष्या, रिस र कुण्ठा भए पनि प्रश्न निम्छरो नभएको भन्दै उहाँले ती प्रश्नलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रश्नमा थुप्रै आत्मश्लाघा थियो, अहङ्कार थियो, क्रोध थियो । ईर्ष्या थियो । रिस थियो । कुण्ठा थियो । तर पनि म भन्न चाहन्छु, प्रतिपक्षले गरेको प्रश्न निम्छरो हुँदैन । प्रश्न–प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । एउटा–एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ ।’

२०७६ साल वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिइ अन्यको दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नियमापत्ति गरेका थिए । प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रधानमन्त्रीले सम्बोधन सकाउनुको साथै नीति तथा कार्यक्रम पनि पारित गरिएको थियो ।

आजकाे बैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाव दिनुभयो । उहाँले विशेष समय र शून्य समयमा उठेका विषयलाई गम्भीररूपमा लिन र ती विषयलाई सम्बोधन गर्ने सङ्कल्प गर्न सरकारलाई सुझाव दिनुभयो । पूर्वप्रधानमन्त्रीलाई प्रतिपक्षी दलको ठाउँ सुहाएको भन्दै उहाँले गफले नभइ सही मतिका साथ काम गरेर सत्तापक्षको ठाउँ सुहाउँदो देखाउन पनि सचेत गराउनुभयो ।
सांसद थापाले नेपाली भूमि फिर्ता र एमसीसीबारे प्रश्न गर्ने प्रतिपक्षी दलका नेता ओलीलाई आफ्नो कार्यकालमा के गर्नुभयो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई विश्वास गरेर नागरिकले प्रधानमन्त्रीत्व दिएको भन्दै गर्दा मैले मनमनै आफैँलाई भनिरहेको थिएँ– कठैबरा ! राजनीतिक प्रणालीको बारेमा थाहै रहेनछ । यो प्रधानमन्त्रीय प्रणाली होइन । यहाँ सांसद नागरिकले चुनेर माननीय बनाउँछन् । माननीयले मन लाग्नेलाई सम्माननीय बनाउँछन् । यहाँ राख्छन् । मन नलाग्नेलाई उता पठाउँछन् । कहिले उता, कहिले यता । जब उहाँले बोल्दै गर्दा भन्नुभयो– भूमि फिर्ता कहिले आउँछ ? जेठ ३१ गते २०७७ सालमा सिङ्गो संसद् उभिएर संविधान पास गरेर ल है अगाडि बढ्नुहोस् भन्दै गर्दा एक वर्ष, दुई वर्ष, एकपक्षीय, बहुपक्षीय अनेकन वार्ता भएछ । एक पटक चुइक्क भूमिका बारेमा बोल्नुभएन । एक सय ६५ जना सांसद छ, अब एमसीसी के गर्छौ भनिरहँदा यसो सम्झेको उहाँसँग त कति रहेछ ? दुई सय आठ हुँदै गर्दा के गर्नुभएको रहेछ ?’

पञ्चायतपछि सत्तापक्षकै दलले सडकमा प्रदर्शन गरेको उल्लेख गर्दै सांसद थापाले विपक्षी दलसँग पनि संवाद र सहमति गरेको भन्ने ओलीले संविधान विपरीत संवैधानिक परिषदबाट प्रतिपक्षलाई निकाल्ने काम गरेको भनी व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा छक्क परेको कतिखेर भने जतिखेर उहाँ यहाँ उभिएर भ्रष्टाचारको कुरा गर्नुभयो । म त झुक्किएँ । यसो हेरेको उहाँ त माननीय होइन, जतिखेर सम्माननीय हुनुहुन्थ्यो, दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्ने, काण्ड गर्नेलाई जोगाउने अनि काण्डको छानबिन गर्नका लागि बनाएको, संविधानले बनाएको निकायलाई पङ्गु बनाउने । विधेयकको कुरा गर्नुभयो । बनाउनुपर्ने कानुन नबनाउने, नबनाउनुपर्ने एकपछि अर्को बनाउने । बनाएर संसदतिर आयो भने पनि बाटोमै छेकिदिने । अहिले बडो विधेयकको चिन्ता गर्नुभयो । पञ्चायतपछि पहिलो पटक सरकारमा बस्नेले शक्ति प्रर्दशन गर्‍याे सडकमा । उहाँ यहाँ उभिएर भन्नुहुन्छ– राज्य सञ्चालन गर्दा अपनाउनपर्ने सबै खालको संयमता र अनुशासनप्रति म सजग थिएँ । प्रतिपक्षसँग संवाद र सहमतिको सम्पूर्ण काम गरेको थिएँ भन्दै गर्दा संविधानले दिएको संवैधानिक परिषदबाट प्रतिपक्षलाई आउट गर्ने प्रधानमन्त्रीलाई मैले सम्झेँ । गठबन्धनको संस्कृति भित्रियो । कत्रो चिन्ता भएको ? जताततै गठबन्धन मेरै अहङ्कारका कारण आएको भन्ने सम्झनुभयो कि भएन होला ?’

उहाँले आफ्नो उपचार गर्न सरकारी ढुकुटी प्रयोग गरेका नेता ओलीले घाइते योद्धालाई उपचारका लागि समस्या भए कार्यालय आउन दिएको अभिव्यक्तिप्रति पनि व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ए घाइते योद्धाहरू सरकारले तिमीहरूको उपचार गरेन भने मेरो पार्टी कार्यालय आउ भन्दै गर्दा कठैबरा, आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउलान् ?’

सांसद थापाले चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइ नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गरी कोभिड महामारी फैलिन नदिनेतर्फका तयारी व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । महामारीले देखिने गरी स्वास्थ्य क्षेत्र थला परेको र गैरस्वास्थ्य क्षेत्रमा पनि प्रभाव परेको भन्दै उहाँले ती क्षेत्रका समस्यालाई सम्बोधन गर्नेतर्फ सरकार सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया