मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु

 साउन २९, २०७८ शुक्रबार २०:२६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – नेपाल विद्युत् प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । 

प्लान्टबाट विद्युत् वितरणमा प्रयोग हुने आठ, नौ र एघार मिटरका पोलहरू उत्पादन हुनेछन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार पाँच सय ८० थान रहेको छ । 

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले आज शुक्रवार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रूपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गर्नुभयो । 

आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाइ हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको बताउनुभयो । उहाँले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिनुभयो । प्लान्टबाट उत्पादित पोलहरू मुख्य रूपमा प्रदेश नं १ र र २ का जिल्लामा आपूर्ति गरिने छ । 

प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कङ्क्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया