नेता–कार्यकर्तालाई प्रचण्डकाे आह्वान : ‘सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुनुस्’

 साउन २९, २०७८ शुक्रबार २०:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ । 

आज शुक्रवार दिउँसाे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीसहितको वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको हो । 

सरकारलाई सफल बनाउनका लागि अबको चार महिना केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो चार महिनाको अवधिमा राजनीतिक रूपमा वामलोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरू सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्तिविरुद्धको सङ्घर्षलाई अघि बढाउने दिशामा अघि बढ्न अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ ।’

बैठकले भोलि शनिवारदेखि सुरु हुने केन्द्रीय कमिटीकाे बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी सङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको सङ्घर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि वामलोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ । 

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया