‘खाेप नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हाे, आवश्यक परे निर्मातासम्म पुग्नेछाैँ’

 साउन ३१, २०७८ आइतबार १५:३०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘एकातिर खोप व्यवस्थापनका लागि आवश्यक परेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्नेछौँ भने अर्कोतिर पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस् भनेर खोपको वितरण समन्यायिक हुने मानवीय आधारको हुने स्थिति पनि बनाउने छौँ ।’

यो हप्तासम्म पूर्णमात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएका र दैनिक तीन लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको उहाँले बताउनुभयो । अहिले नेपालमा आइसकेको एक करोड आठ लाख खोपबाहेक आउँदाे असोजसम्म कम्तीमा अर्को एक करोड खोप आउने भएको छ । यसबाहेक आउँदाे चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सबै नागरिकलाई खोप लगाएर सक्ने प्रण गरेको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । 

‘यसका अतिरिक्त अबको हाम्रो कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञको सल्लाहमा आधारित हुनेछ भन्नेमा पनि म सरकार प्रमुखको हैसियतले सबैलाई विश्वस्त गराउन चाहन्छु’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले खोपपछिको तात्कालिक अर्थव्यवस्था सञ्चालनको मूल नीति समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा केन्द्रित हुने बताउनुभयो । 

गएकाे वर्ष आर्थिक गतिविधि रोकिएर कर्जाको माग कम भएकाले पनि ब्याज दर कम भएको थियो । जसले गर्दा ऋण लिएर व्यवसाय गरिरहेका उद्यमीलाई केही राहत भएको थियो । आर्थिक गतिविधि बिस्तारै बढ्दै जाँदा एकातिर कसरी ब्याज दर अनियन्त्रित रूपमा बढ्नबाट रोक्ने भन्नेमा सरकारले ध्यान दिनेछ भने अर्कोतिर साना लगानीकर्ता तथा व्यवसायीलाई संरक्षण गर्ने, लघु तथा साना र मझौला उद्योगलाई विभिन्न लक्षित कार्यक्रमबाट समस्या समाधान गर्ने उहाँले उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया