झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – विज्ञहरूले सिन्धुपाल्चोककाे मेलम्ची र त्यस वरपर क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको बताएका छन् । मेलम्ची र त्यस वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरूको टोलीले जलवायु परिवर्तनका कारण त्यस क्षेत्रमा विपद् आएकाे प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।
आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा अस्वाभाविक वृद्धि भएका कारण त्यस क्षेत्रमा बाढीको विपत्ति आएकाे अनुसन्धानको क्रममा आफूले पाएको जानकारी दिनुभयो । उहाँले माइनस १२ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा जलवायु परिवर्तनका कारण ५ डिग्री सेल्सियस तापक्रम हुन जाँदा त्याे भूगोलमा पहिरो र बाढीको चपेटामा परेको स्पष्ट पार्नुभयो ।
भूगर्भविद् दाहालले भन्नुभयो, ‘जलवायु परिवर्तनका कारण हिउँ हुने ठाउँमा पानी परेको देखिएको छ । याे प्राकृतिक विपत्ति आउनुको मुख्य कारण हो । यसको विस्तृत अध्ययन गरेर समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने अवस्था छ ।’
उहाँले मेलम्ची र हेलम्बु क्षेत्रमा देखिएको समाधान तत्काल समाधान हुने अवस्थामा नरहेको भन्दै सचेतसमेत गराउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अहिलेसम्मका ज्ञान, विज्ञान र स्थानीय अनुभवका आधारमा त्यस क्षेत्रको भूगोलको अध्ययन सुरु गरिएको बताउनुभयो । उहाँले ती क्षेत्रको जोखिम न्यूनीकरणका लागि आउँदाे हिउँदसम्म विस्तृत कार्ययोजना ल्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आउँदाे हिउँदभित्र हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रमा गाडी चल्ने गरी आवश्यक व्यवस्था मिलाउने दाबी गर्दै निराश नहुन स्थानीयवासीलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची र हेलम्बु क्षेत्रको विपद् व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तत्काल तयार गर्न सरकारको पनि गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सरकारले मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीसहितको विपद् आउनुको कारणबारे अनुसन्धान गर्न विज्ञहरूको टोली गठन गरेको थियो । टोलीले स्थलगत अवलोकन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनमा त्यस क्षेत्रमा तत्काल बाढी, पहिरोको समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।