झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको एक सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि तीन सय २६ वटा टावर निर्माण गरिएको छ ।
प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने झन्डै दुई हजार मेगावाट जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । लाइनलाई भाेलि मङ्गलवादेखि ३३ केभीमा सञ्चालन गरिने छ ।
‘इनरुवामा २२० केभीको सबस्टेशको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी भोजपुर, सङ्खुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिने छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ ।’
सङ्खुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका १७ मा चतरा–धरान ३३ केभी लाइनमा ल्याइने छ । तिरतिरे–वसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोजपुर, सङ्खुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरू बर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरूको जडित क्षमता झन्डै ३३ मेगावाट छ ।
सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको वसन्तपुरमा गरी तीन वटा सबस्टेशनको निर्माण गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिनुभयो । ‘निर्माण चरणमा विभिन्न अवरोधहरू छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौँ’, उहाँले भन्नुभयो, ‘निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिट्टो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ ।’
नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा प्रदेश नं १ का भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।
प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।
करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ ।
दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२० केभीको सबस्टेशन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानित लागत दुई करोड ५३ लाख डलर छ ।
तेस्रो प्याकेजमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइ काम भइरहेको छ । एक सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आउँदाे माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।