‘देउवालाई परमादेशकाे प्रधानमन्त्री भनेर हेप्ने, घाेच्नेलाई नागरिकले माफी दिने छैनन्’

 साउन ३२, २०७८ सोमबार १६:१३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी दिनुभएको छ । 

सांसद यादवले एमालेप्रति सङ्केत गर्दै संसदबाट बहुमत साबित गराउनुभएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई नागरिकले माफी नदिने पनि बताउनुभयो । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आउँदाे चुनावपछि पनि पाँच वर्ष सरकार चलाउने गरी नागरिकले म्यान्डेट दिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा बहुमत साबित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् । अब यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन, आउँदाे चुनावपछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दाबी हो ।’

सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दाबीसमेत गर्नुभयो । 

उहाँले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्धार गर्न पनि सरकारलाई सचेत गराउनुभयो । सरकारले भनेर होइन तत्काल उद्धार गरेर अफगानिस्तानमा रहेका नेपालीहरूको जीवन सुरक्षा गर्नुपर्ने सांसद यादवको भनाइ छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया