पहिरोले थुनियो बझाङको सानीगाड

 भदौ ४, २०७८ शुक्रबार १७:१०:३९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने आठपालिचौर झारकाँडामा पहिरो जाँदा सानीगाड नदी थुनिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

भदाै ३ गतेदेखि परेको वर्षापछि आएको पहिरोले दुई घरसमेत पुरिएका छन् । पहिरोले बुङ्गल नगरपालिका वडा नम्बर ६ का स्थानीयवासी बले धामी र नरेन्द्र धामीको घर पूर्णरूपमा क्षति भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले जानकारी दिनुभयो । पहिरोमा कुनै मानवीय क्षति नभएकाे तर बले धामीका तीन भैँसी, तीन गोरु, सात बाख्रा मरेका र अन्नपात नष्ट भएको छ ।  

साथै नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाईका दुई गाई पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताउनुभयाे । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको उहाँले जानकारी दिनुभयाे ।

पहिरोले थुनिएकाे सानीगाड नदी अहिले केहीबेर अघिदेखि ओभर फ्लाे भएर बग्न थालेकाे छ । स्थानीयवासी, जनप्रतिनिधि, नेपाली सेनासहितको टोलीकाे पहलमा नदी अहिले बग्न थालेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया