ओली गुटबाट तत्काल छुटकारा पाउनुस्, हाम्राे पार्टीमा आउनुस् : माधव नेपाल

‘हामी सरकारमा सहभागी हुनेछौँ, पाँच दलीय गठबन्धन अगाडि बढ्नेछौँ’

 भदौ १०, २०७८ बिहीबार १७:५४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको छ । हिजाे बुधवार एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्नुभएका अध्यक्ष नेपालले आज बिहीवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त हुँदै आफूहरूको क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको हो । 

उहाँले ओली दक्षिणपन्थी भासमा भासिएको, राष्ट्रियताको सुदृढीकरण गर्न नसकेको, सरकार सञ्चालनमा असफल भएको, संसद् विघटन गरी प्रतिगामी कदम चालेको तथा तत्कालीन नेकपा र नेकपा (एमाले) विभाजनमा उद्यत रहेको भन्दै ओली गुटको भ्रमबाट मुक्त भइ छुटकारा पाउन आफ्नो पार्टीमा आउन उहाँको आग्रह छ । 

नेता नेपालले भन्नुभयो, ‘म आह्वान गर्न चाहान्छु, तपाईँहरू तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुहोस् । दक्षिणपन्थी भासमा भासिइसकेको, राष्ट्रियताको सुदृढीकरणको मान्यतालाई तिलाञ्जली दिइसकेको, नागरिकप्रतिको जिम्मेवारीबोधबाट भागिसकेको, सरकार सञ्चालनमा असफल भइसकेको, पार्टीलाई तहसनहस पार्न उद्यत भइसकेको र एकीकृत भइसकेको नेपाल कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने काममा अग्रसरता लिएको, विभाजित हुँदाखेरी भोज भतेर गरेर खुसीयाली मनाएको अनि नेकपा एमालेलाई पनि विभाजन गर्नका लागि २०७७ चैत २८ गते कदम चालेको र नेपालको नागरिककाे निर्वाचित संस्था प्रतिनिधि सभा २०७७ पुस ५ गते विघटन गरेर प्रतिगामी कदम चालेको र प्रतिगमनको दिशातर्फ अगाडि बढेको र नेपालको इतिहासमा, राजनीतिमा एउटै प्रधानमन्त्रीले आफ्नो एउटै कार्यकालमा दुई पटक प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्ने कीर्तिमान कायम गरेको यस्तो व्यक्तिको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुनका लागि म सबैलाई हार्दिक आह्वान गर्न चाहन्छु ।’

अध्यक्ष नेपालले केपी शर्मा ओलीले मार्क्सवादी मूल्य, मान्यतालाई तिलाञ्जली दिँदै व्यक्तिवादमा डुबेपछि आफूहरू विद्रोह गर्न बाध्य भएको बताउनुभयो । पार्टीलाई निजी कम्पनीजस्तो बनाएको, जनताको बहुदलीय जनवाद (जबजा) को मूल्य मान्यता त्यागेको तथा आफू पक्षीय नेताहरूलाई एमालेबाट निष्कासन गरेपछि त्यसकाविरुद्ध विद्रोह गर्नुको विकल्प आफूहरूसँग नभएको उहाँले स्पष्ट पार्नुभयो । 

नेता नेपालले पार्टी विभाजनमा आफ्ना केही सहयोद्धाहरूले साथ नदिएकोमा कुनै गुनासो नभएको पनि प्रतिक्रिया दिनुभयो । लामो यात्रामा जाँदाखेरी केही साथीहरू बीचैमा थाकेको भन्दै उहाँले फेरि पनि ती सहयोद्धाहरू समावेश हुनसक्ने बताउनुभयो । 

अध्यक्ष नेपालले सबै वामपन्थी, लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उहाँले आफूहरू वर्तमान सत्ता गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा जाने पनि बताउनुभयो । उहाँले संक्षिप्तमा भन्नुभयो, ‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौँ । पाँच दलीय गठबन्धन अगाडि बढ्नेछौँ ।’ 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया