काबुल विमानस्थलमा फेरि आतङ्ककारी आक्रमण हुनसक्ने बाइडेनको चेतावनी

 भदौ १३, २०७८ आइतबार ९:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल विमानस्थलमा फेरि आतङ्ककारी आक्रमण हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले फेरि आतङ्ककारी आक्रमण हुन सक्ने सङ्केत मिलेको र आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा रहेका अमेरिकी सैन्य बल फिर्ता भइरहेका बेला सैनिक कमाण्डरले आक्रमण हुन सक्ने सङ्केत दिएको बाइडेनको दाबी छ । केही दिनअघि पनि काबुल विमानस्थलमा आक्रमण हुन सक्ने बाइडेनले बताउनुभएको थियो । लगत्तै इस्लामिक स्टेट आईएसले गरेको विस्फोटमा १ सय ७० जनाको ज्यान गएको थियो ।

अमेरिकाले लगत्तै ड्रोन आक्रमण गर्दा बम विस्फोटका योजनाकार मारिएको अमेरिकाले दाबी गरेको छ । तालिबानले आउँदो अगष्ट ३१ सम्म अमेरिकी सेना फिर्ता भइसक्नुपर्ने चेतावनी दिँदै आएको छ । अमेरिकाले अफगानिस्तानबाट नागरिक उद्धारको काम तीव्र बनाएको छ ।

 अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरेको छ । योसँगै अमेरिकाले अफगानिस्तानबाट उद्धार गर्नेहरुको सङ्ख्या झण्डै एक लाख १२ हजार पुगेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका छन् । अमेरिकी र अरु विभिन्न देशका विमानले उद्धारको काम गर्दै आएका छन् ।

तालिबानले यही अगस्ट ३१ सम्म आफ्ना सैनिक निकाल्न अमेरिकालाई भनिरहेको छ । अमेरिकाले उद्धारको काम तीव्र बनाएको हो । अफगानिस्तान छोड्न चाहनेको भीडभाडकै बीच गएको बिहीवार विमानस्थल नजिकै बम विस्फोट भएको थियो ।

लगत्तै अमेरिकाले गरेको ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएको अमेरिकी सैन्य बललाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया