आपूर्ति विभागले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने

 भदौ २०, २०७८ आइतबार ८:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ ।

देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई प्रभावकारी बनाइने विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो  । अबको एक/दुई दिनमा प्रभावकारी अनुगमन सुरु गर्ने उहाँको  दाबी छ ।

सेढाईँका अनुसार अबको अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित हुनेछ । चाडपर्वलाई लक्षित गरी अनुगमनका लागि काठमाण्डौ उपत्यकामा थप २५ जना जनशक्ति सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।

विभाग मातहत रहेका देशभरका पाँच वटा कार्यालय र हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा देशभर नै अनुगमन हुने उहाँले बताउनुभयो । तीज र दशैँ नजिकिएकाले अबको अनुगमन, गरगहना, कपडा, मासु र दैनिक उपभोग्य वस्तुमा केन्द्रित हुने उहाँको भनाइ छ ।

चाडपर्वको समयमा उपभोक्ता र व्यापारीको बढी भेटघाट हुने भएकाले यो समयमा उपभोक्ताले गुनासो धेरै गर्ने भएकाले अनुगमनलाई बढाइने गरेको उहाँले बताउनु भयाे । अरु समयमा पनि विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आएको उहाँले दाबी गर्नु भयो । चाडपर्वको समयमा पालिकाहरुले पनि अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । अहिले पनि बजार भाउ महँगाे भएको, कालोबजारी भइरहेको गुनासो उपभोक्ताले गर्दै आएका छन् ।

चाडपर्वमा झन् बढी यस्ता घटना हुन सक्ने भन्दै उपभोक्ताले तत्काल बजार अनुगमन प्रभावकारी बनाउन माग गर्दै आएका छन् । कसैलाई आफू ठगिएँ भन्ने लागेमा स्थानीय प्रहरी, स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मातहतका कार्यालय तथा विभागको टोल फ्रि नम्बर ११३७ मा पनि फोन गरेर गुनासो राख्न सकिने छ ।

यस्ता उजुरी आएमा कालोबजारी ऐन अनुसार कारबाही हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया