सीपमूलक तालिम एकीकृतरूपमा सञ्चालन गरिने, तालिमकाे प्रभावकारितामा जाेड

 भदौ २१, २०७८ सोमबार १२:३१:४२ | रासस
unn.prixa.net

काठमाण्डाै – विभिन्न मन्त्रालय र निकायमार्फत अलग अलग ढङ्गले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमलाई एकीकृत ढङ्गले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ ।

अर्थमन्त्रालयमा आइतबार आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्चपदस्थ अधिकारीले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृतरूपले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

श्रम, शिक्षा, कृषि तथा पशुपंछी, सहकारी, युवालगायत मन्त्रालय र मातहतका निकायबाट हुने गरेका सीपमूलक तथा रोजगारमूलक तालिमलाई विषयगतरूपले एकीकृत गरी एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने निचोड निकालिएकोे छ ।

त्यस अवसरमा अर्थमन्त्री जनार्दन शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृतरूपले सञ्चालन गर्नेगरी नीतिगत तयारी गर्न निर्देशन दिनुभयो ।

“एकै प्रकृतिका कार्यक्रम धेरै निकायबाट भइरहेको छ । यसरी काममा प्रभावकारित आउँदैन । तिनलाई केन्द्रिकृत गर्ने गरी तयारी गर्नुस्”, उहाँले भन्नुभयो, “हरेक वर्ष एउटै व्यक्तिलाई एकै प्रकृतिको तालिम मात्र दिइरहने तर उक्त व्यक्ति स्वरोजगार भएको नदेखिने समस्या छ, यसलाई अन्त्य गर्नुपर्छ ।”

उहाँले तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्नसक्ने खालको तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “हामीले गर्दै आएको वृक्षरोपण र ट्रेनिङ उस्तैउस्तै भयो, खासै परिणाममुखी भएनन् । अब यसलाई सच्याउने गरी नीति, कार्यक्रम बनाउनुपर्छ”, सीपमूलक तालिम एकीकृत गर्दा सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर तय गर्नुपर्नेमा मन्त्री शर्माको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले सीपमूलक तालिम एकद्वार प्रणालीबाट सञ्चालन गनुपर्ने प्रस्ताव आवश्यक र सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै यसलाई विषयगत हिसाबले दुई समूहमा विभाजन गरी सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिनुभयो । श्रम क्षेत्रसँग सम्बन्धित तालिम जति सबै श्रम मन्त्रालयमार्फत र प्राज्ञिक क्षेत्रसँग सम्बन्धित सबै किसिमका तालिम शिक्षा मन्त्रालयमार्फत सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ ।

उहाँले तालिम सञ्चालन गर्दा देशभर एकीकृत पाठ्यक्रम लागू गर्ने र तालिम सकिएपछि सबैलाई एकीकृत ढाँचाको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । यसोगर्दा शहरी क्षेत्रमा र ग्रामीण क्षेत्रमा पाएको तालिमको प्रमाणपत्रले समान मान्यता पाउने उहाँको तर्क छ ।

अर्थसचिव मधुकुमार मरासिनीले एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने विषय सकेसम्म प्रतिस्थापन विधेयकमा समेट्ने गरी तयारी गर्न सम्बद्ध मन्त्रालय तथा निकायलाई आग्रह गर्नुभयो । यसरी एकीकृत प्रणालीबाट कार्यक्रम सञ्चालन गर्दा लागत प्रभावीसमेत हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया