लालपुर्जा छ तर जमिन छैन !

 भदौ २७, २०७८ आइतबार १९:२२:११ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा बर्सेनि सेती नदीमा आउने बाढीले खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गर्ने गरेको छ । सेती र कालंगा नदीमा आउने बाढीले जमिन बगाउँदा यहाँका बाढी पीडितसँग लालपुर्जा भए पनि जग्गा भने छैन । 

बझाङमा कुनै सरकारी कार्यालय, सङ्घ–संस्थासँग बाढीले कति जमिन बगाएको छ र बाढीले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्याङ्क भने छैन । 

यकिन तथ्याङ्क नभए पनि बुङ्गल भएर बग्ने कालंगा नदीले दह बगरको लौनेदेखि केदास्युको देउरासम्म र सेती नदीले तलकोटको मेलबिसौनादेखि केदारस्युको देउरासम्मको खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेकाे छ ।  

बर्सेनि आएकाे बाढी–पहिरोले खेतीयोग्य जमिन कटान गरी बगाउँदै गएपछि लालपुर्जामा प्रशस्त जग्गा भएको भए पनि अहिले त्यति जमिन नभएकाे पीडितहरू बताउँछन् । 

जयपृथ्वी नगरपालिका ३ डुङग्रीका करन ओलीसँग झन्डै नाै रोपनी जग्गाको लालपुर्जा छ तर अहिले त्यति जमिन छैन । लालपुर्जालाई आधार मानेर हेर्ने हो भने उहाँको परिवार पाल्नका लागि पर्याप्त जग्गा छ । तर अहिले उहाँसँग तरकारी लगाउने ठाउँ पनि छैन । 

डुङग्रीको जग्गा बगाएपछि उहाँ विस्थापित भएर त्यही वडाको पुगर गाउँमा गएर बसिरहनुभएकाे छ । बाढीले जग्गा बगाएपछि केही बसाइसराइ गरेर अन्यत्रै गएका छन् भने केही लेकतिर जग्गा किनेर बसेका छन् । 

कृषि र पशुपालनलाई मुख्य पेसा बनाउँदै आएका यस क्षेत्रका नागरिकलाई अहिले गुजारा गर्न पनि धौ धौ भएको छ । बर्सेनि आएको बाढीले बगाएर मेरो जग्गा यहीँनेर थियो भन्ने पनि यकिन गर्न नसकिने अवस्था आएको स्थानीयवासी जनक ओलीले बताउनुभयाे ।  

उहाँले भन्नुभयाे, ‘जग्गा भए बैंकमा धितो राखेर भए पनि केही व्यवसाय गर्न सजिलो हुन्थ्यो । लालपुर्जा मात्र भएर के गर्नु, जग्गा छैन । बर्सेनि जग्गाको पोता (तिराे) मात्र तिर्दै आएका छौँ । जग्गा बगाएपछि केहीले यो ठाउँ नै छाडेर कैलाली, कञ्चनपुरतिर बसाइँ सरेका छन् । हामीसँग केही पाखो जमिन छ, अहिले त्यही जमिन कमाएर खाइरहेका छाैँ ।’

खेतीयोग्य फाँटहरू बगाएपछि किसानका सपना पनि बाढीसँगै बगेका छन् । सदरमुकाम नजिकैको भोपुर, देवल जिउलो, रुईना बगर, साईला बगर र सुवेडाको जिउलो बझाङका धेरै धान फल्ने फाँटमध्ये पर्छन् ।  

सेती नदीले बर्सेनि किनाराका धेरै उब्जनी हुने फाँटहरू बगाएर लैजाने गरेको छ । अब त बाढीले खेत कटान गरेर घरछेउमै पुगेकोे जयपृथ्वी नगरपालीका ११ भोपुरकी कमला जोशीले दुःखेसो पाेख्नुभयाे ।  

उहाँले भन्नुभयाे, ‘नदी पहिला पारि पुरी गाउँको छेउबाट बगेको थियो । बर्सेनि नदीले आफ्नो धार बदल्न थाल्यो, भएका सबै खेत बगायो । अहिले त गाउँकै छेउमा सेती नदी पुगिसक्यो । पोहोर साल पनि बाढीले हेर्दा हेर्दै खेत लग्यो । कमाइ खाने सबै खेत बगाइसक्यो, सानो टालो मात्र बाँकी बचेको छ ।’ 

बझाङकाे बुङ्गल नगरपालिकाकाे पनि अवस्था उस्तै छ । खानीबगरका देब्बो धामीले भन्नुभयाे, ‘मसँग १२ रोपनी जमिन थियो । जेनतेन परिवार पालेको थिएँ । २०५७ साल जेठ २६ गते आएको बाढीले प"रै जमिन बगायो । बाढी आएपछि हामी खर्क (छाना) तिर लाग्यौँ । हेर्दा हेर्दै दुःख गरेर कमाएको पैसाले किनेको जमिन बगायो । ती दिन सम्झेर रुन मन लाग्छ ।’ 

बाढीको समयमा तत्कालै राहत सामग्री वितरणबाहेक सरकारी पक्षबाट आफूलाई कुनै सहयोग नभएको उहाँको गुनासो छ । सेती नदी र कालंगा नदीमा आएको बाढीले हरेक वर्ष थलारा, तलकोट, मष्टा, केदारस्यु, छविस पाथीभेरा, दुर्गाथली गाउँपालिका र बुङ्गल नगरपालिकाका नदी किनाराको जग्गा कटान हुँदै आएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया