कर्णालीवासीले जनप्रतिनिधिलाई साेधे– समिति बनाउने मात्रै हाे कि काम पनि गर्नुहुन्छ ?

 असोज २, २०७८ शनिबार २०:८:३६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णालीका नागरिकहरूले आफ्ना सबालमा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन् । आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट ठूलो आशा र अपेक्षा भए पनि त्यसअनुसार काम हुन नसकेको भन्दै उनीहरूले गुनासो व्यक्त गरे । संसद् परियोजनाको सहयोगमा आउटलाइन मिडिया प्रालि काठमाण्डौले आज शनिवार सुर्खेतको भेरीगङ्गा नगरपालिकामा आयोजना गरेको ‘हाम्रो संसद्’ कार्यक्रममा सहभागी नागरिकहरूले यस्तो बताएका हुन । 

भेरीगङ्गा १० का वीरबहादुर बस्नेतले सांसहरूलाई सरकारले सञ्चालन गरेका कार्यक्रम नागरिकका लागि  कि कार्यकर्ताका लागि पनि हो ? भनेर प्रश्न गर्नुभयो । उहाँले नागरिकले प्रत्यक्ष रूपमा लाभ लिएका छन् कि छैनन् भनेर अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । सडक, सिँचाइ, खानेपानी, भवनलगायतका विभिन्न योजना अलपत्र रहेको उहाँको भनाइ छ । 

भेरीगङ्गा १२ की उर्मिला विकले रोजगार, शिक्षा, स्वास्थ्यलगायतका समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले दलित महिला आर्यआर्जन कार्यक्रम ल्याएको छ भनेको छ । खै, हामीले रोजगार पाएको ? हामीले पढेर पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता छ ।’ 

सुर्खेतमा वर्षाैँदेखि बाढी पीडितहरूको समस्या रहेकाले व्यवस्थापनका लागि ध्यान नदिइएको नागरिकहरूले बताए । २०७२ सालका बाढी पीडित अहिले पनि पालमुनि छन् ।

भेरीगङ्गा ४ का विजय दलामी मगरले ६ वर्षदेखि बाढी पीडितको व्यवस्थापन नभएको गुनासो गर्नुभयो । उहाँले प्रदेश सभा सदस्यहरूलाई प्रश्न गर्दै भन्नुभयो, ‘अहिलेसम्म बाढी पीडितहरूको व्यवस्थापन गर्न किन सक्नुभएको छैन ? समितिहरू बनाउने मात्रै हो कि समस्या समाधानतर्फ लाग्नुहुन्छ ? । हामीले पालमुनि कहिलेसम्म बस्ने ? ।’

त्यही ठाउँका सन्तबहादुर खत्रीले आफूहरूको नाम बाढी पीडितको नामावलीमा समेत समावेश नगरेको भन्दै गुनासो व्यक्त गर्नुभयो ।  

कार्यक्रममा पूर्वउपसभामुख पुष्पा घर्तीले प्रदेश सभाले सङ्घीयताको जग बसाउने र जनपक्षीय कानुन निर्माणका काम सुरु गरिएको बताउनुभयो । प्रदेश सभा, संसद्का विषयगत समितिले विधेयकबारे छलफल बहस गरेर पास गर्ने गरिएको उहाँको भनाइ छ । पूर्वउपसभामुख घर्तीले सरकारले गरेका कामको अनुगमन गर्ने, निर्देशन दिने, सुझाव दिने गरिएको जानकारी दिनुभयाे । नागरिकका समस्याहरूप्रति सरकारलाई जवाफदेही गराउने काम प्रदेश सभाले गरेको उहाँले बताउनुभयो । 

प्रदेश सभा सदस्य खड्क खत्रीले योजना तथा बजेट दुरुपयोग हुनबाट रोक्न स्थानीयस्तरबाट चनाखो हुनुपर्ने बताए । उहाँले निर्वाचन क्षेत्रमा योजना छनोट गरेर पठाएको जानकारी दिनुभयो । प्रदेश सभा सदस्य खत्रीले जनपक्षीय कानुन निर्माण, संशोधन लगायतमा आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो । सरकारले नागरिकका लागि भन्दा पनि सरकारमा रहेकाहरूको आसेपासेका लागि कार्यक्रम ल्याउने गरेको पाइएको भन्दै संसदबाट आफूहरूले खबरदारी गरिरहने उहाँको भनाइ थियो । 

प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री विमला केसीले आफूले सुरु गरेका राम्रा कार्यक्रमलाई अघि बढाउन पहल गर्ने बताउनुभयो । बाढी पीडितहरूको घर बनाउने काम भइरहेको र केहीको व्यवस्थापन भएको उहाँको भनाइ छ ।  

प्रदेश सभा सदस्य अमृता शाहीले महिलाका लागि आय आर्जन कार्यक्रमका लागि निरन्तर पहल गरेको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २७, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया