त्यो ७ घण्टा आकाशमा मैले जे भोगेँ...

 असोज १८, २०७८ सोमबार २०:४०:५७ | नारायण पोखरेल
unn.prixa.net

पुदिनाको चटनी र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । सँगै छोरी सुतेकी थिइन्, मभन्दा पहिले जागेकी रहिछिन्, मेरो कुनै प्रतिक्रिया नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछिन् । कोट्याउँदै, बोलाउँदै गर्दा  झल्याँस्स जागेँ । छोरीको मामु चाजोपाजो मिलाउँदा मिलाउँदै सुतेको दुई घण्टा पनि भएको थिएन, त्यसैले होला अझै मस्त निद्रामै थिइन् ।

अलाराम लगाउन बिर्सेकाले मेरी ज्ञानी लक्ष्मी छोरीले उठाउँदा ४:५५ भएको थियो । लामो समयका लागि कर्म देश छाड्न लागेकाले कोठालाई चिरिच्याँट्ट पार्दै फ्रेश भएँ । संयोगवश जापानमा आजै ठूलो हावाहुरी चल्न सक्ने भएकाा कारण ट्रेन, बसलगायत यातायातमा अवराेध हुन सक्ने खबर जापान समाचारका गोकर्ण अधिकारीको पोस्टमा देखेपछि मन आत्तियो ।

साथीहरू रोहित आचार्य, सपना घिमिरे र टोपलाल गिरीले ७ बजेतिर स्टेशनसम्म पुर्‍याउन जाने वाचासहित बेलुकै छुट्टिएका थियौँ । ताइफुका कारण छिटाे आफ्नो यात्रा तय गर्नुपर्ने भएसॅंगै तीन जनालाई नै फोन गरे, दुई जना साथीसँग सम्पर्क भयाे । उनीहरू ६ बजे आइपुगे । छिटो हिँड्नुपर्ने कारण बताएपछि उनीहरूकाे सहयोगमा आलोपालो गर्दै, सुटकेस लतार्दै टोकियो स्टेशन पुगियो । ट्रेन बन्द हुने हल्लासँगै बसमा नारिता बाट्टिने निधो गरेँ । त्यहाँनेर १५/२० मिनेट जति बस स्टेशन भेट्टाउन अलि गाह्रो भएको थियो । त्यति बेला ७:१० भइसकेको थियो । ७:२० मा १३०० यानको टिकट काटी बस चढियो । बसमा क्यास पैसाले काम नगर्दो रहेछ, कि सुईका कि टिकट नै चाहिँदो रहेछ ।

८:२५ मा नारिता टर्मिनल २ पुगियो । कुन गेटबाट छिरियो कुन्नि, बस रोकेको सिधै अगाडिबाट छिर्दै गर्दा नेपाल एअरलाइन्स लेखेको, राष्ट्रिय झण्डालगायत वरिपरि सबै प्यारा नेपाली दाजुभाई दिदीबहिनी देख्दा बिहानी पखको सपनीमा  आमाले पकाएको कोदोको रोटी र पुदिनाको चटनी फेरि याद आयो । 

प्रदेश–प्रदेश नै हो । केहि दृष्यले मन भक्कानियो । त्यहाँ ४०/४२ वर्षकी एक जना हात फ्याक्चर भएकी दिदी, ३०/३५ वर्षको हात फ्याक्चर भएका अर्का दाइ र अर्को एक जना नेपालमै गएर मुखको अपरेशन गर्ने भन्दै लाइनमा उभिनुभएका दाजुलाई देखेँ । मनमनै दशैँको बेला दशा लागेछ भनेँ । म पनि सामान जाँचका लागि लाइनमै बसे ।

बिजनेस क्लासका यात्रुका लागि लाइन बस्नुनपर्ने छुट्टै व्यवस्था रहेछ । नेपाल एअरलाइन्सकाे बिजनेस क्लासको अनुभव र आरामदायी यात्राका लागि बिजनेस क्लास मेरो पहिलो रोजाइ बनेको थियो । सेवा र यात्रा कस्तो भयो भन्नेबारे अन्तिमसम्म पढ्नु होला । 

८:३५ मै हाम्रो सामान जाँच भइहाल्यो । बच्चासँग हातमा समान बोकिरहनु पर्ने झन्झटले सबै सामान बाल्काेनीमा पठायौँ । पछाडि पाचर्समा ह्यान्ड क्यारी काण्ड मच्चियो । त्यो के थियो, बिस्तारै उल्लेख गर्दै जाने छु। 

जाँचका क्रममा नेपाल एअरलाइन्सको तर्फबाट जापानका लागि आजु लामासॅंग भेट भयो । एउटा फोटाे लिन्छु भनेको हतार हतारमा त्यति बेला बिर्सिएँ, पछि भेट हुन पाएन । 

आजु लामाजी पनि काेराेनाविरुद्धकाे खाेपकाे पासपोर्ट र पीसीआर रिपोर्ट जाँच गर्न अति नै व्यस्त हुनुहुन्थ्यो । त्योलगत्तै हामी बडी चेकिङका लागि तयार भयाैँ । 

अघिल्लो वर्ष नेपाल जाने क्रममा नारिताको फ्लाइट रद्द भएको खबर गर्दै ट्राभल कम्पनीले हानेदा सरेको खबर गरेको थियो । हानेदा जाँदा फ्लाइट छुटेको थियो । त्यति बेला नारिताको लागि नेपाल एअरलाइन्स अझै सुरु भएको थिएन । अरू कुनै एअरलाइन्स थियो । त्यो घटना नदोहोरियोस् भनेर जाँचका लागि जीवन सङ्गिनी पुनमले शाैचालय जानसम्म दिएकी थिइनन् । 

बडी चेकिङका लागि भित्र ठ्याक्क छिर्ने आजुजीकाे फोन आउने भयो । डिपाचर्सपछि प्लेनमा नजाँदासम्म कुनै खानेकुरा किन्ने/खाने ठाउँ नभएको जानकारी गराउनुभएको थियो । अझै नहत्तारिनु समय छ भन्दा भन्दै पनि पुरानो घटनाले हामीलाई तर्साएकै थियो । भित्र छिर्यौँ । बडी चेकिङपछि इमिग्रेशनमा रि–इन्ट्रीका केही डकुमेन्ट पेस गर्नुपर्ने रहेछ । त्यो कामपछि गेट नं ९३ मा बोर्डिङ्गको लागि पर्खाइमा थियौँ । १०:३० भइसकेको थियो । पोखरेल नारायणको सुटकेसमा एरोप्लेनमा बोक्न नमिल्ने सामान भएकोले ९३ गेटमा तुरुन्त सम्पर्क हुन अनुरोध छ भन्दै अनाउन्स गरियो ।  आफूले त्यस्तो कुनै सामान नबोकेको भए पनि साथीहरूले के–के पो राखिदिए भन्ने डरले भुतुक्कै भएँ । गेटमा पुगेँ । खाबान आउँदासम्म कुर्न भनियो । कुरेँ । डर झन्–झन् बढिरहेको थियाे। 

एकैछिनमा झोला डिपाचर्समै आयो । सुटकेस नै होला भन्ठानेको थिएँ, हैन रहेछ । माथिबाट सँगै लाने झन्झटले बाल्काेनीमै पठाएको त्यही ह्यान्ड क्यारीमा मोबाइलकाे ब्याट्री परेछ । खोलेर झिकेँ । र आफूले आफैँ यस्तो गर्न हुन्न भन्ने कुरा खुब जानेकोजस्तो लाग्थ्यो । एकैछिन लज्जित भएँ, शिर निहुराएरै । सुमिम्ममासेन गोमेन्नासाई जापानिज भाषामा भन्दै मज्जाले माफी मागेँ । मेरै कारण कति झन्झट भयो होला भने जस्तो लाग्यो । करण थियो बच्चासँगै ह्यान्डक्यारी बोक्ने झन्झटले बाल्कुनीमा पठाउनु । 

त्यसै समयमा आजु जीसँगको कुराकानी र आफैँले देखेको कुराका यादहरुले कोरोना भ्याक्सिन पास बनाएकाले पनि पीसीआर नगर्नुभएको पाइयाे । कसैले नबुझाएर हो कि  भ्याक्सिन नलगाउनु भएकाहरुले होटल बुक नगर्नु भएको केही चेकिङमा परामर्श गर्दैमा व्यस्त हुनुहुन्थ्यो । त्यसैगरी भ्याक्सिन पासपोर्ट भएकाहरुले पनि होटल बुक गरेको पनि देखियो

भ्याक्सिन पासपोर्ट बनाएकाहरु नेपालमा सिधै घरमा जान पाइन्छ भन्ने थाहा नभएको प्रष्ट बुझिन्थ्यो । त्यसो त टिकट काट्ने ट्राभल्स कम्पनीहरुको लापरबाही हो कि यात्रुहरुको बुझाइ कम हो ? कुन्नि ।सबै बझाइ दिनु पर्ने हो । तर तपाईँले आफ्नो यात्रा गर्दा आफैँ राम्रोसॅग बुझ्नुहोला।

घडीमा १०:४५ बजिसकेको थियो । बिजनेस क्लास र इकोनोमी क्लास त्यसै गरी प्राथमिकता दिनु पर्ने यात्रीलाई लाइनमा बस्न भनियो। बिजनेस क्लास र प्राथमिकताका लागि अगाडि बोलाइए पनि कुन लाइनमा को बस्ने छुट्याइएको थिएन । एकै छिन अलमल परियो । त्यत्तिकैमा एक जना जापानिज स्टाफले छुट्टाछुट्टै लाइन मिलाउनु भयो ।

स्क्रिन हरुमा ११:०० बजे नै बोर्डिङ समय तालिका लेखिएको भए पनि ११:०५ मा एयरक्राप्ट सर्भिसका लागि १० मिनेट ढिला हुने अनाउन्स भइसकेकाे थियो । ११:१५ मा  नारिता एयरपोर्ट अन्तर्गत नेपाल जनको लागि ९३ नं को गेट खुल्यो । हामी पासपोर्ट र टिकट देखाउँदै भित्रछिर्यौँ । सिमसिम पानी परेको थियो । हाम्रो देशको प्लेन देखियो । मनमा हर्ष लाग्यो । टाढाबाट प्लेनसहित को फोटो खिच्नेहरु धेरै हुनुहुन्थ्यो । तर प्यासेञ्चर बोर्डिङ्ग ब्रिजको सिसामा पानि परेकाले फोटा प्रस्ट आएका थिएनन् । 

म सबैभन्दा अगाडि अगाडि हिँडेको थिएँ । प्लेनको ढोका बाट प्रवेश गर्दा  ११:२० भएको थियो । परिचालिका सिस्टर ढोकामै कक पिटसाइडमा उभिएर नमस्कार गर्दै स्वागत गरेको कति राम्रो देखिन्थ्यो ।घडीमा ११:३५ बजेको थियो । जुस कुनचाँहि लिनुहुन्छ । भन्दै कति राम्रोसँग स्वागत गर्नु भएको थियो । प्लेन उडानको लागि इञ्जिनियर प्लेनका लागि पानी भर्ने स्टाफ , बाेर्डिङ्ग सकिएको नसकिएको जानकारी गराउने स्टाफहरु बेला बेलामा खै के के चिप प्यासेञ्जरसँग साइन गराउन प्लेनको ढोका नेर आइरहनु भएको थियो । ढोका प्रवेश गरिसके पछि अगाडिकै सिटमा हामी भएकाले सबैसँग भेट्न बोल्ननपाउँदा म दङ्ग थिएँ । 

त्यतिकैमा क्याप्टेन विजय लामा सर आउनु भयो । छोटो कुराकानी भयो । बिहान ल्यान्डिङ गर्दा हावाहुरीका कारण प्लेन हल्लिएर समस्या परेको अनुभव सुनाउनु भयो । एयरपोर्टमा प्लेन बसाल्न अप्ठ्यारो परेका कारण झन्डै ओसाका जान लागेको अनुभव बताउनुभएको थियो । परिचय चिनजान फोटो खिच्ने काम पनि गर्यौँ । त्यसो त विजय सरसँग भर्चुअल माध्यमबाट पहिले नै चिर परिचित थियौँ। उहाँ आबद्ध संस्था न्यानोपनसँग काम गर्दा लामो समय कुराकानी र सरसल्लाह गरेका थियौँ । कोरोना महामारीको बीचमा हेल्पिङ्ग ह्याण्ड जापान टिम संग एउटा फेसबुक लाइभ अनलाइन कार्यक्रम पनि  गरेका थियौँ । त्यो कार्यक्रम गर्दा सरसँग जुम भिडियोमा लामो समय कुरा भएको भन्दा प्रत्यक्ष भेट्दा अझै मज्जाको हुनुहुँदो रहेछ । सँगै बसेर आकाशमा कुरा गर्दै फोटा खिच्दै यात्रा गर्दा खुब आनन्द आयो । क्या मज्जा आयो ।

अँ साँच्ची प्लेनले ११:४२ तिर सपाेर्टबाट तोइङ्ग भयो । स्पोर्ट छोडेको थियो । कति बजे जमिन छोड्छ भनेर घडी हेरेर बसेको थिएँ । ११:४८ मा प्लेनले रन वे छोड्यो ।पानी परेको र बादल लागेकाले आकाशबाट टोकियोको दृष्य देख्न पाइएन । १२:१५ मा नै चिकेन ,राइस,भेजिटेबल जुस कुन कुन के के लिनुहुन्छ भन्दै सोध्न आउनु भयो । त्याे हाम्रो लागि सेकेण्ड सर्भिस थियो।बच्चाका लागि पनि दूधको लागि व्यवस्था गरिदिनु भयो । १२:५५ तिर पहिले अडर लिए अनुसार सबै तयार बनाएर ल्याइदिनु भयो ।अर्डरमा सोधिएको भन्दा बाहिर चुकन्दर काजु किसमिस त्यसैमाथि कक बिस्कुटले चिकेन र फ्राइ राइसलाई मिठो स्वाद थपेको थियो । प्लेट कप रुमालहरु मा नेपाल एयरलायन्स लेखेको दृष्यले खानालाई हेर्दा थप आहा! बनाएको थियो । खाना बिस्तारै नेपाली स्वादमा स्वाद मानेर समय लगाएरै खाना खाएँ । 

घडीमा जापानिज समय अनुसार १ बजेर ४० मिनेट गएको थियो  । पुन: परिचालिकाले  चिया कफी ग्रिन टी के लिनुहुन्छ भन्दै मेरो सिट नजिकै आउनु भयो । मैले चाँहि ग्रिन टि लिएँ । छाेरी प्रिन्सु हाम्रै सिट अगाडि टाँगिएको बेबी बस्नेत्तोमा सजिलोसँग सुतेकी थिइन । उनी सुतेकी भएकाले हामीले आनन्दले खाना खानपायौँ । सिटलाई बटम दबाएकै भरमा विस्तारा बनाउन मिल्ने भएकाले म पनि त्यो सुविधा लिदै सुतेँ । 

खासै निन्द्रा नपरेकोले कुनै एउटा मुभी हेर्ने निधो गरेँ। सुतेरै हेर्न मिल्ने भएपछि रोजी फिल्म र कमेडी हेरेँ तर टिकटक हेर्ने बानी भएर होला लामो समयको भिडियाे हेर्ने बानी हराएछ जस्तो लाग्याे ।त्यतिकैमा हेर्दा हेर्दै निदाएछु । ३: १५ तिर बच्चालाई कुन खानाको कोर्ष भएकाले परिचालिकाले खुवाउने कि भन्दै सोध्न आउनु भयो ।

भात खुवाइको औपचारिकता टोकियो मै गरेको भए पनि संयोग बस ६ महिना पूरा पुगेको दिनको अवसर आजै परेकाले साँच्चै भात खान सुरु आकाशमै गर्ने आफ्नै देशको प्लेनमा गर्ने हुटहुटी चलेको थियो ।छाेरी भाग्यमानी भएर पनि होला । ६ महिना पूरा पुगेको दिन प्लेनमै नेपाल एयरलाइन्सबाट बच्चालाई दिइने लिटोबाट खाना खान सुरु गरिन । त्यो कुरा पाइलट विजय लामाले भिडियाे खिच्नु भएको थियो।सायद युट्युबमा देख्न पाइन्छ होला । 

क्याप्टेन लामाले नेपाल एयरलाइन्सले यो जहाज हाम्रो देश हो । भन्दै गर्दा आकाशमै भए पनि आफ्नै देशमा भएको महसुस गरे । केही दिन पहिले नेपालमा प्लेनको समाचारको कुराले सबैको मनमा डरको काँडा गाडेको भए पनि पाइलट विजय लामालाई देखेपछि सबै निर्धक्क देखिन्थे । मलाई पनि यात्रा ढुक्क लागेको थियो । त्यसो त चालक दलका सबै जनाप्रति मेरो उत्तिकै सम्मान छ । सबै जना कति मिठो बोल्नु हुँदो रहेछ । 

बीचमा नागोयादेखि बालुवाटारको सिस्टर  ईशा केसीसँग परिचय भयो । उहाँहरु नागोयामा परिवारसॅंगै बिजनेस गर्नु हुन्छ । सायद सबैले चिन्ने बिजनेस म्यान हुनुहुन्छ । काठमाण्डाै पुगेर सिधै चितवन हान्निने निधो गरेकोले अनिदो भइएला भनेर जबरजस्त सुतेँ ।

जापानको समयअनुसार ४:४५ मा अर्को सर्भिसकाे लागि परिचालिका आउनु भयो । चिया कफी के लिनुहुन्छ ? भन्दै कति मिठो सौहार्दता कति मिठो बोलि । आफ्नै दिदी बहिनी जस्ता । म्याडम खाना लिनुहुन्छ कि! छेउमै मेरी उनि थिइन् । पुन : बच्चा खेलिरहेको छ है !

म एकैछिन पछि लिन्छु नानी सुताउँछु अनि ।  तर मैँले चाँहि पालो दिनकाे लागि खाना सुरु गरिसकेको थिएँ । त्यति मैलेभोजन सकिसकेको थिएँ । घडीमा जापाको समय थियो १७:१० । कतिबेला मातृभूमिको माटो छुन पाइएला भनेर प्लेनभन्दा अगाडिअगाडि मन उडिरहेको थियो । मैले पनि अब कति समय छ नि काठमाण्डाै पुग्न भनेर  बोल्ने निहुँपारि सोधिहालेँ। अझै २ घण्टा बाँकी रहेछ।

१७:२५ मा रातो ड्रेसमा विजय सर निस्कनु भयो । फ्लाइटमा सायद पाइलटहरुले आलो पालो ड्रेस चेञ्ज गरेर आराम गर्नुहुँदो रहेछ क्यारे । मनमा पाइलट र पाइलटका कामका कुरा सम्बन्धी धेरै जिज्ञासा थिए ।तर जसलाई हेर्यो कि आराम गरेर सुतिरहनु भएका कि व्यस्त नै हुनुहुन्थ्याे । यस पालि भने विजय सरले भिडियो खिचिरहनु भएको थियो ।  खिच्दै पछाडि एकोनोमी क्लास तिर जानु भयो ।सरका भिडियो हरु युट्युबमा धेरै नै हेरेको छु । सायद आज खिचेको पनि युट्युब कै लागि होला जस्तो लाग्यो । फर्केर आउँदा म र छाेरीकोबारेमा केही सोध्नु भयो । छोटो कुरा पछि सर खै सायद ककपिट तिर जानु भयो । 

17:45 मा पुनमको लागि थप सोधपुछ गर्न आउनु भएका स्टाफलाई केही जिज्ञासा राख्न भ्याए । यो पालि जुस स्यान्डब्रीच जस्तै देखिने परिकार मित्र चाँही चिकेन र पिरो अचार स्वादिलो मिठो थियो ।१८:५० मा काठमाण्डाै नजिक आएको जानकारी  अनाउन्स गरियो । लौ अब त । आइपुगियो जस्तो लाग्यो । म्यापमा हेर्दा इन्डिया र नेपालको सिमाना माथि प्लेन उडिरहेका थियौँ । एकैछिन पछि प्लेनले आकाशमै ढल्किढल्की गोलो एक फन्को मारेको थियो । घामको किरण एक पटक दायाँपट्टिको झ्यालबाट र अर्को पटक बायाँबाट म बसेको सिटमा आइपुगेको थियो । प्लेनले हाइटबाट तलतल झर्दा घरिघरि सिटमा आफ्नो शरीर नै नभएको महसुस हुँदा सिरिङ्ग हुन्थ्यो। सायदसँगै यात्रा गरेकाहरुलाई पनि यस्तो भएहोला । त्यतिबेला मेरो मोबाइल हातबाट खसेर सिटमुनि खै कता पुग्यो । झिक्ने प्रयास गरेँ तर सकिनँ । छेवैमा चिप प्यासेन्जर हुनुहुन्थ्यो सायद प्रज्ञा अर्याल उहाँले पछि इञ्जिनियरलाई भन्छु भन्नुभयो । त्यति बेला त्यतिकै छोडेँ ।

मेरो मोबाइल र वाचमा जापानको समय सेट भएकोले जापानकै समय अनुसार सबै यथार्थ कुरा तपाईँलाई सेयर गरिरहेको छु । मेरो घडिको समय अनुसार संयोग १९ बजेर १९ मिनेटमा त्रिभुवन विमान स्थलमा प्लेन अवतरण गरेको थियो ।

त्यसको केहीबेर पछि  मिठो आवाजमा अनाउन्स भयो कि ""नमस्कार नेपाल एयरलाइन्समा तपाईँलाई स्वागत छ ।

हामी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाैमा अवतरण गरेका छौँ । स्थानीय समय अनुसार दिनको ४ बजेर १० मिनेट गएको छ । र बाहिरको तापक्रम २६ डिग्री सेल्सियस छ । सिटको बेल्ट बाँध्ने बत्ती ननिभेसम्म र जहाज पूरा नरोकिएसम्म सिटमै बसिदिनु होला । माथिको सामान कक्ष खोल्दा विशेष ध्यान पुर्याउनु हुन अनुरोध गर्दछौँ । साथै विद्युतीय उपकरण प्रयोग गर्न सक्ने जानकारी गरागराउँदछौँ ।विमानबाट प्रस्थान गर्नु अगाडि आफ्नो सम्पूर्ण सामानहरु...... भएको सुनिश्चित गर्नुहोला । कप्तान एम डङ्गोल तथा अन्य उडान कर्मचारीहरु नेपाल वायुसेवाबाट यात्रा गरिदिनु भएकोमा धन्यवाद प्रकट गर्दछौँ र भविष्यमा पनि सेवा गर्ने अपेक्षा राख्दछौँ । नमस्ते.....

यो फ्लाइटमा अनाउन्स गर्ने परिचारिका थोरै चिल्लो काली अनुहार भएकी राम्री हुनुहुन्थ्यो । नेपाल वायुसेवाको बारेमा नेपालीले नेपालीमा नेपाली कै लागि सुनाएको यो माथिको भनाइ म पनि आफैँ प्रत्यक्ष सुन्दै  लुकि लुकि भिडियो गरिरहेको  थिएँ । गल्ति भयो कि भन्ने लागेर कतै पोष्ट त गरेको छैन । तैपनि किन किन रेकर्ड गर्न मन लाग्यो । सायद नेपाली पनले मनदेखि नै हुटहुटी चलेको हुनुपर्छ । सधैँ अन्य भाषामा सुनिने त्यो भनाइ नेपाल कै गौरव नेपाल एयरलाइन्सको जहाजमा सुन्न पाउँदा राष्ट्रियताले पनि मन मुटु भिजेको थियो । 

१९:१९ मा भुइँ टेकेको जहाज ओपन  स्पोटमा  १९ बजेर २९ मिनेटमा रोकिएको थियो । स्पोट नं ५ मा रोकिएको थियो । सबै यात्रु झरिसक्नु भयो तर मेरो मोबाइल सिट मुनि फसेकाले कुर्नु पर्यो ।फुटरेस्टमुनिको  भुइँमा बिछ्याइएकाे कार्पेटको पनि मुनिपट्टि पुगेकाले इन्जिनियरले पनि  सिट खोल्ने सामान ल्याउनु पर्ने भएकाले थोरै समय लाग्ने बताउनु भयो । १९ :५३ मा प्लेन बाट झरियो ।नजिकै नेपालको सिमकार्ड बोक्नु भएकी बुटवलकी दिदीसँग फोन गरेर आमालाई फोन गरे । काठमाण्डाै आइपुगेको जानकारीसँगै बिहान देखेको सपनाको कोदोको रोटी र पुदिनाको अचार बनाएर राख्न लगाएँ ।भक्कानिएको आवाजमा आजै आउ है छोरा घरमा भन्नुभयो खुसीले आफ्नै आँखा रसाए ।  फोन काटेँ। 

सेवा सुविधासहितको रमाइलो, आरामदायी यात्राको लागि नेपाल वायुसेवा निगमप्रति धन्यवाद । दिँदै Good Job दिन चाहन्छु । अन्य वायुसेवा निगमबाट यात्रा गर्दाभन्दा नेपाल वायुसेवाबाट यात्रा गर्दा मलाई धेरै नै आनन्द आयो । मैले सोचेको सुनेको भन्दा फरक पाएँ । राम्रो पाएँ । समग्रमा अर्थपूर्ण आरामदायी यात्रा थियो । कमिकमजोरीहरु हुन सक्छन । केही कमेन्ट गर्नुपर्ने कुराहरु पनि थिए ।तर ती कुराहरु म प्लेनभित्रै स्टाफलाई नै अझै यस्तो सुविधा थप्नु पर्छ भनेर सुनाएको थिएँ । हामी नेपालीहरुको कमजोरी सामाजिक सञ्जालमा भाइरल हुन्छन । तर राम्रा कुरा छायाँमा पर्छन् । त्यसैले मैले पनि जे भो त्यो सबै संक्षिप्तमा लेखेको छु। 

आफ्नो देश र राष्ट्रको कुनै पनि सेवा हामी आफैँ प्रवर्द्धन र सम्वर्द्धन गरेनौँ भने कस्ले गर्छ ? 

अन्तिम अपडेट: बैशाख १४, २०८१

नारायण पोखरेल

गुल्मी जैसीथाेकका नारायण पोखरेल हाल जापानकाे टाेकियाेमा हुनुहुन्छ । 

1 Comments

  • prem kshetri

    Oct. 5, 2021, 11:22 a.m.

    welcome nepal narayan ji

  •  0 Reply

तपाईको प्रतिक्रिया