एकै महिना दुई हजारभन्दा बढी पर्यटक खुम्बु पुगे

 कात्तिक २, २०७८ मंगलबार १६:८:४५ | सुवास दर्नाल
unn.prixa.net

खुम्जुङ रेन्च पोस्टकाे विश्रामस्थलबाट हिमाल नियाल्दै पर्यटकहरू

सोलुखुम्बु – कोरोना महामारीले शिथिल बनेको खुम्बु क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालन हुन थालेका छन् । खुम्बुमा पर्यटकीय गतिविधि चलायमान भएसँगै एकै महिना दुई हजार जनाभन्दा बढी पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । 

शरद् ऋतुको असोज महिनामा सार्क देशका चार सय ५२ जनासहित एक हजार तीन सय २३ जना विदेशी र सात सय ७८ जना नेपालीले खुम्बुको भ्रमण गरेको निकुञ्जको जोरसल्ले चेक पोस्टले जनाएको छ । 

असोजमा ३३ लाख ६८ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा ३३ लाख ६८ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट यो राजस्व सङ्कलन गरेको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो देशका पर्यटकबाट २६ लाख १३ हजार, सार्क देशका पर्यटकबाट ६ लाख ७८ हजार र नेपालीबाट ७७ हजार आठ सय रुपैयाँ सङ्कलन भएको छ । 

सगरमाथा राष्ट्रिय निकुञ्जले तेस्रो देशका पर्यटकलाई प्रति व्यक्ति तीन हजार, सार्क देशका पर्यटकलाई एक हजार पाँच सय रुपैयाँ र नेपालीलाई एक सय रुपैयाँ प्रबेश शुल्क लिने गरेको छ । 

खुम्बु आउने पर्यटकको सहजताका लागि काठमाण्डौको भृकुटीमण्डपमै पनि राजस्व तिर्न सक्ने व्यवस्था गरिएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।  असोज महिनामा भृकुटीमण्डपबाट ४४ जना विदेशी पर्यटकले निकुञ्ज प्रवेशका लागि शुल्क तिरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।   

अघिल्लो वर्षको असोजमा एक सय ४६ स्वदेशी तथा २५ विदेशी नागरिकले मात्रै निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए ।   

अघिल्लो वर्ष कोरोनाका कारण ठप्प जस्तै बनेको पर्यटकीय गतिविधि यस वर्षको असोज महिनादेखि बिस्तारै लयमा फर्किन थालेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिनुभयो । 

विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया