कतारमा गैर कानुनी रूपमा काम गरिरहेकाले यसरी सक्छन् आफ्नो कानुनी अवस्था सुधार गर्न र स्वदेश फर्कन

 कात्तिक ७, २०७८ आइतबार ११:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा गैर कानुनी रूपमा काम गरिरहनुभएको छ ? यदि त्यसो हो भने अब कतार सरकारले दिएको आममाफीको अवसरको सदुपयोग गर्दै सहजै आफ्नै कानुनी अवस्था सुधार गर्न या स्वदेश फर्कन्न सकिन्छ । 

कम्पनीमा वर्किङ भिसामा कतार गएर विभिन्न कारणले कतारी आइडी नपाएका वा नवीकरण हुन नसकी अवैध रूपमा रहेकाहरूले कुनै रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिई आवश्यक कागजातसहित विभिन्न केन्द्रमा गएर आफ्नो कानुनी अवस्था सुधार गर्न सक्छन् । 

यसरी आफ्नो कानुनी अवस्था सुधार गर्दा अहिलेसम्मको जरिवाना छुट तथा मिनाहा हुने छ भने आफूले जब अफर लेटर पेस गरेको कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिन्छ । 

त्यसका लागि उम्म सलाल सर्भिस सेन्टर, उम्म सुनाइम सर्भिस सेन्टर(साविकको इन्टस्ट्रियल एरिया) मेसाइमिर सर्भिस सेन्टर, अल वाक्रा सर्भिस सेन्टर र अल रैयान सर्भिस सेन्टरमा जान सकिन्छ ।

यसरी रोजगारी सुनिश्चित नभएकाहरूको हकमा भने स्वदेश फिर्तीको सहजीकरणसमेत हुन्छ । त्यसका लागि सर्च एण्ड फलो अप डिर्पाटमेन्ट (एसएएफडी) मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट् तथा मिनाहा गरी स्वदेश फर्कन पाइन्छ । 

जुनसुकै प्रकारको भ्रमण भिसा(टुरिस्ट, पारिवारिक भिसा लगायत)मा कतार गएको तर भिसाको म्याद समाप्त भई अहिले पनि कतारमै रहेकाहरूले भने नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएएफडी मा उपस्थित भई दण्ड र जरिवाना मिनाहा गरी स्वदेश फर्कन सक्ने छन् ।

कतार सरकारको यो घोषणा ३१ डिसेम्बर २०२१ अर्थात् आउँदो पुस १६ गतेसम्म लागू हुने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । 

कतार सरकारले दिएको यो अवसरको सदुपयोग गर्दै दण्ड जरिवानाबाट बच्न र आफ्नो कानुनी अवस्था सुधार वा स्वदेश फर्कन दूतावासले अनुरोध समेत गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया