बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको अभाव

 कात्तिक ७, २०७८ आइतबार ११:११:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिन अगाडिको लगातारको वर्षाका कारण आएको बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।

पानी पर्न छाडेपछि तराईलगायत धेरै ठाउँका प्रभावितको जनजीवन  सामान्य बन्दै गएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लाका धेरै ठाउँका प्रभावितलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको समस्या भएको हो ।

पहिरोका कारण सबैभन्दा धेरै प्रभावित भएको बझाङको थलारा गाउँपालिकाका प्रभावितहरुलाई खाद्यान्न, औषधि र खानेपानी लगायतको समस्या भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले घर खेत पुरिएकाले खाद्यान्न, लत्ताकपडा लगायतको समस्या भएको छ ।

यो गाउँपालिकामा २३ जनाले ज्यान गुमाएका छन् ।  उपाध्यायका अनुसार अहिले गाउँपालिकामा १ सय ८० परिवारले स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । कतिपय प्रभावितहरु पालमा बसिरहेका छन् । कयौँ परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।  

सदरमुकाम चैनपुर लगायत धेरै ठाउँमा  खानेपानी र सञ्चार सेवा पनि बन्द भएकाले समस्या छ । पालिकाहरुले प्रभावितहरुलाई राहत र हराइरहेकाहरुको खोजीलाई तीव्रता दिइरहेको बताएका छन् । पालिकाले सकेसम्म परिवारको सङ्ख्याको आधारमा खाद्यान्न लगायतका राहत वितरणको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । तर, यो  पर्याप्त भने नभएको उहाँको भनाइ छ ।

यस्तै कैलालीको टिकापुर नगरपालिका पनि डुबान प्रभावित नगरपालिका हो । टिकापुर नगरपालिका–५ मा रहेको शाहीपुरमा कर्णाली नदी  थुनिएपछि यो  पूरै  क्षेत्र डुबानमा परेको थियो ।  अहिले पानीको मात्रा कम भएर जनजीवन सामान्य हुँदै गएको भए पनि अझै धेरै बिचल्लीमा छन् ।

भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा लगायतका सामान डुबेर कुहिँदा खाद्यान्न लगायतका सामान जोहो गर्न समस्या भएको छ ।  लुम्बिनी प्रदेश लगायतका अरु ठाउँमा भने पानी पर्न छोडेपछि जनजीवन सामान्य बन्दै गएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया