प्रदेश बनाउन नमिली सुखै छैन, त्यसैले राजीनामा दिएकाे छु : अष्टलक्ष्मी शाक्य

 कात्तिक १०, २०७८ बुधबार १५:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । 

वाग्मती प्रदेश सभाको आज बुधवारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री राजीनामा दिएको घोषणा गर्नुभएको हो । प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सभामुख महोदय, मैले कुरा प्रष्ट राख्नुपर्छ । मैले कार्यसूचीमा हेरेँ । दोस्रो कार्यसूची पनि रहेछ । दोस्रो कार्यसूचीमा हामी किन जानुपर्‍याे र ? किन भन्दा हामी संस्कारयुक्त बनाैँ, द्वन्द्वलाई कम गरौँ, हामी एक–अर्कामा सहयोग गरौँ, एक–अर्कामा भावना जोडौँ । यो प्रदेश बनाउनका लागि मिलेरै काम गरौँ । आफ्ना–आफ्ना ठाउँ होला, जिम्मेवारी होला । आफ्ना आफ्ना जवाफदेहीता होला । पदीय दायित्व होला त्यो आफ्नै ठाउँमा छ । तर आखिरमा नमिलिकन सुखै छैन । साँच्ची नै यो प्रदेश बनाउनलाई नमिली सुखै छैन । त्यसो भएको मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले सरकारको सिङ्गो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छु ।’

मुख्यमन्त्री शाक्यले आउँदा दिनमा वाग्मती प्रदेश सभामा मिलेरै अगाडि बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेकाले राजीनामा दिएको स्पष्ट पार्नुभयो । नेकपा (एमाले) संसदीय दल, मन्त्रीहरू लगायत सबैको भावनाअनुसार आफूले पदबाट मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही तरिकाबाट हामीले एक–अर्कामा सहयोग गरौँ भन्ने भावनालाई नै आत्मासात राखेर त्यो भावनालाई नै व्यक्त गर्ने गरी र आउँदा दिनमा सम्झिने, आउँदा दिनमा मिलेरै अघि बढ्नका लागि यही तरिका राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यही बाटो ठिक हुन्छ भन्ने हामीलाई लाग्यो । नेकपा (एमाले) लाई लाग्यो । हाम्रो दलको बैठक भर्खरै बस्याे । सबैसँग छलफल गर्‍याैँ । सबैको विचार पनि यही भयो । मिलेर जाँदा सबैभन्दा राम्रो हुन्छ भन्ने कुराहरू भएको हुनाले मैले यसरी मार्ग प्रशस्त गरेको छु । र अहिलेसम्मकाे सहयाेगका लागि सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

उहाँले आउँदा दिनमा एमाले प्रतिपक्षको रूपमा रहे पनि वाग्मती प्रदेशको विकासका लागि मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । सत्तापक्ष र विपक्षबीचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उहाँले वाग्मतीलाई नमुना प्रदेश बनाउनका लागि एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।   

वाग्मती प्रदेश सभाको अर्को बैठक सूचना जारी गरेर बोलाइने प्रदेश सभा सचिवालयले जनाएकाे छ । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया