प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन  सम्पन्न : १९ बुँदे घोषणापत्र जारी

 कात्तिक १३, २०७८ शनिबार १२:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुन: एकीकरणसम्बन्धी सम्मेलन २०७८ सम्पन्न भएको छ । 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले कात्तिक ११ र १२ गते काठमाण्डौमा सञ्चालन गरेको कार्यक्रम १९ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार समापन गरिएको हो । सम्मेलनमा स्वदेश फिर्ता भएका श्रमिकको पुन: एकीकरणलाई कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने कुरामा वृहत छलफल भएको छ ।

सम्मेलनले जारी गरेकाे घोषणापत्रमा पुन: एकीकरणसम्बन्धी नीति, सम्बन्धित ऐन–कानुन र संरचनागत व्यवस्था शिघ्र निर्माण गर्नुपर्ने, स्थानीय तहको सक्रियता बढाउनुपर्ने, विदेशबाट फर्किएका श्रमिकको सीप तथा अनुभवको सदुपयोग हुनेगरी काम र सेवा सुविधा उपलब्ध गराइनुपर्ने विषयहरु उल्लेख छन् । यस्तै पुन: एकीकरण​ सम्बन्धमा गन्तव्य देशको दायित्व किटान गरिनुपर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा उनका परिवारलाई सामाजिक सुरक्षाका कार्यक्रममा समावेश गरिनुपर्ने लगायतका विषयहरु पनि घोषणापत्रमा समेटिएका छन् ।

भारतलगायत विदेशबाट फर्केका श्रमिकको खण्डीकृत तथ्याङ्क राखिनुपर्ने, पुनः एकीकरणका विषयलाई गन्तव्य देशसँग गरिने द्विपक्षीय सम्झौता र समझदारीपत्रमा समावेश गर्न पहल गर्नुपर्ने, पुनः एकीकरणसँग सम्बन्धित वा सघाउ पुग्ने गरी सञ्चालित सेवा सुविधा तथा कार्यक्रमहरूका विषयमा व्यापक प्रचार प्रसार गर्नुपर्ने, जिम्मेवार निकायको क्षमता अभिवृद्धि गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ । 

सम्मेलनमा  १६० जनाको सहभागिता रहेको थियो । सम्मेलनमा १० वटा समानान्तर सत्र, एउटा मूल मन्तव्य, एउटा प्लेनरी र एउटा आदानप्रदान सत्र रहेका थिए । सम्मेलनमार्फत वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरूका आवाज सुन्ने, पुन: एकीकरणसम्बन्धी हाल भइरहेका कार्यक्रमबारेमा जानकारी आदानप्रदान गर्ने, पुनः एकीकरणमा देखिएका समस्या पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकाय एवम् सरोकारवालालाई सुझाव प्रस्तुत गरिएको आयोजक संस्थाले जनाएको छ । 

सम्मेलनको समापन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सीप र पूँजीसहित वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले उद्यमी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रोजगारी सिर्जनाका लागि राज्यले गरेको लगानीले उचित प्रतिफल दिन नसकेको स्वीकार गर्दै उहाँले सबै कार्यक्रमलाई एक ठाउँमा ल्याएर उद्यमशीलतामार्फत रोजगारी सिर्जना गरिने बताउनुभयो ।

यस्तो छ घोषणपत्र :


अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया