कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै

 कात्तिक १५, २०७८ सोमबार १२:३:४९ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरुको पदावधि आज सकिँदै छ । नेकपा समाजवादी पार्टीका तीन जना मन्त्रीहरुको पदावधि आजदेखि सकिने भएको हो  ।

समाजवादी पार्टीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमर बहादुर थापा आजदेखि पदमुक्त हुनुहुनेछ । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि  वैशाख ४ गते मन्त्रीमा नियुक्त भएका उहाँहरुले एमालेकाे कारबाहीमा परे पछि फेरि वैशाख १५ गते गैर सांसदका रुपमा मन्त्रीको शपथ खानुभएको थियो । गैर सांसद छ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार उहाँहरु पदमुक्त हुन लाग्नुभएको हो ।

अहिले एमाले विभाजन भए पछि उहाँहरु नेकपा (एकीकृत समाजवादी) मा हुनुहुन्छ ।  आज तीनै जना मन्त्रीहरुले राजीनामा दिने तयारी गर्नुभएको छ ।  आज तीन जना मन्त्री पदमुक्त भए पनि रिक्त रहेको ठाउँमा आफूहरुले नै मन्त्री पठाउने समाजवादी पार्टीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया