जीवनबहादुर शाही :  पाइलटदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीसम्म

 कात्तिक १७, २०७८ बुधबार १२:३६:२८ | मुना हमाल
unn.prixa.net

सुर्खेत - नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नु भएको छ ।  

हुम्ला निर्वाचन क्षेत्र ‘ख’ प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित शाही तीन दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो । 

कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र प्रदेश सभा सदस्य शाहीलाई नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का तीन जना गरी २१ सांसदको समर्थन छ । कर्णाली प्रदेश सभामा ३५ सदस्य छन् । जसमा १८ जना भए बहुमत पुग्छ।

२०७४ सालको चुनावमा प्रदेशमा प्रत्यक्षतर्फ पार्टीबाट एक्लै चुनाव जितेका र जम्मा ६ जना सदस्य हुँदा पनि मुख्यमन्त्री बन्ने अवसर पाएका शाही २०२१ साल फागुन १९ गते खार्पुनाथ गाउँपालिका–५ (तत्कालीन खर्पेल गाविस) मा जन्मिनु भएको हो ।

उहाँ स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा पढेपछि काठमाण्डौ पढ्नुभयो । माध्यमिक शिक्षा बूढानीलकण्ठ स्कुलमा, उच्च शिक्षा त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाण्डाैमा पढ्नुभयाे । उहाँले राजनीति शास्त्त्रमा स्नात्तकोत्तर गर्नु भएको छ ।  

पाइलट बन्ने सपना लिएर अमेरिका जानु भएका मुख्यमन्त्री शाही पाइलट कोर्स सकेपछि दुई वर्ष पाइलटका रुपमा कार्यरत हुनुभयो । यस पेसालाई बिट मार्दै उहाँ २०४६ साल पछि राजनीतिमा होमिनुभयो ।  अहिले प्रदेश हाँक्ने जिम्मेवारी पाउनु भएको छ । जहाज उडाउन छोडेर उहाँ ‘कर्णालीका पाइलट’ बन्नु भएको छ । 

उहाँ विभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्थ्यो ।शाहीले सामुदायिक रेडियो कैलाशका संस्थापक अध्यक्षसमेत भएर काम गर्नुभयो । रेडक्रस, सहकारी, विद्यालय व्यवस्थापन समितिमा उहाँ आबद्ध हुनु भएको थियो। नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र क्याम्पसको इकाई सदस्यका रुपमा उहाँले विद्यार्थी राजनीति गर्नुभयो त्यसपछि उहाँ कर्णालीसहित समितिको सहसचिव बन्नुभयो ।  

खास गरी उहाँ पाइलट  भइसके पछि मुल राजनीतिमा प्रवेश गर्नु भएको हो ।शाही नेपाली कांग्रेसको हुम्लाको संस्थापक सभापति पनि हुनुहुन्छ । उहाँ २०४६ सालदेखि २०६२ सालसम्म हुम्लाको सभापतिको रुपमा रहनुभयो । अहिले उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०६८ सालदेखि २०७२ सालसम्म नेपाली कांग्रेसको महाकाली इन्चार्ज समेत हुनुहुन्थ्यो । 

२०७० सालमा दोस्रो संविधान सभा सदस्यमा निर्वाचन भएका मुख्यमन्त्री शाहीले संसद्को विकास समिति सदस्य र कर्णाली विकास उपसमितिको संयोजक समेत भएर काम गर्नुभयो । २०७३ सालमा नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री,खानेपानी तथा सरसफाइ मन्त्री समेत भएका हुनुभयो । २०५५ सालमा जिल्ला विकास समितिको सभापति, जिल्ला विकास समिति महासङ्घ केन्द्रीय सदस्यसमेत हुनुभयो । 

नेपाली भाषासहित अङ्ग्रेजी, हिन्दी, स्पेनिस, जर्मनी, लामाखाम भाषाको राम्रो ज्ञान भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले अहिलेसम्म अमेरिका, बेलायत, चीनसहित १४ वटाभन्दा बढी देशहरुको भ्रमण गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया