पालिकामा अनियमितताकाे उजुरी बढ्दाे : अख्तियार दुरुपयाेग आयाेग

 कात्तिक २९, २०७८ सोमबार १९:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा अनियमितताकाे उजुरी बढेको बताएको छ । आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले पालिकामा हुने अनियमितताकाे उजुरी बढेको बताएको हो । 

आयोगको ३१ औँ वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरीहरू पनि पालिकामा भएका कारण यसको सङ्ख्या बढेको बताउनुभयो । उहाँले पालिकामा अनियमितताका उजुरीहरू बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरूको नजिकको सरकारमा निगरानी बढेका कारण सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

प्रवक्ता रिसालले अख्तियारले बयान गराउन स्थलगत रूपमा छानबिन गर्न नसकेका कारण मुद्दा दायरमा कमी भएको बताउनुभयो । उहाँले कतिपय कुरा आयोगले अनुसन्धान गर्न नसक्दा पनि कमी आएको बताउनुभयो । प्रवक्ता रिसालले आयोगको लक्ष्य तथ्य र प्रमाणको आधारमा निर्णय गर्ने भएकाले मुद्दा दायरको सङ्ख्यामा कमी आएको बताउनुभयो ।

गएकाे आर्थिक वर्षमा सङ्घीय मामिला (पालिकासमेत) ३२ दशमलव ७२ प्रतिशत उजुरी परेका छन् भने शिक्षा (पालिकासमेत) १५ दशमलव ६१, भूमि प्रशासनमा ९ दशमलव ०९, वन तथा वातावरणमा ५ दशमलव ०१, स्वास्थ्य तथा जनसङ्ख्यामा ३ दशमलव ९३, भौतिक पूर्वाधार तथा यातायातमा ३ दशमलव ७६, गृह प्रशासनमा ३ दशमलव ४७, ऊर्जा जलस्राेत तथा सिँचाइमा ३ दशमलव ०९, अर्थमा २ दशमलव ०९, नक्कली शैक्षिक प्रमाणपत्रमा ५ दशमलव ६१, गैरकानुनी सम्पत्ति आर्जनमा ३ दशमलव ३८ र अन्य क्षेत्रमा १२ दशमलव २५ प्रतिशत उजुरी परेको आयोगले उल्लेख गरेको छ । गएकाे आर्थिक वर्षमा २२ हजार ६ सय २५ वटा उजुरी परेकोमा १४ हजार पाँच सय ३२ वटा फर्छ्याेट भएको अख्तियारले बताएको छ । 

 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया