एमाले महाधिवेशन : बन्दसत्र हुने होटलको पर्खालमा चित्रकला (तस्बिरसहित)

 मंसिर ९, २०७८ बिहिबार ७:२४:२५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने ठाउँ होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ ।

चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् । होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् ।

नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला सङ्घ र प्रगतिशील ललितकला सङ्घको आयोजनामा चित्रकला आयोजना गरिएको हो ।

२०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ल्ड आर्ट लिङ्कका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणामा चित्रहरु कोरिएको बताउनुभयो । 

कलाकारहरुले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघ सहितका चित्रहरु कोरेका छन् ।

उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने बताइएको छ । 


अन्तिम अपडेट: बैशाख ४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया