एमाले महाधिवेशन उद्घाटनमा सक्ने जति मानिस आउँछन् : याेगेश भट्टराई

 मंसिर ९, २०७८ बिहीबार १८:३४:२१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन –  नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग सकिएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको तयारी ९५ प्रतिशत सकिएको छ । भट्टराईले अब फिनिशिङको काम मात्रै बाँकी रहेको बताउनुभयो । 

महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भोलि बिहीवार दिउँसो नदी किनारमा सक्ने जति मानिस आउने बताउनुभएको हो ।

देशका विभिन्न ठाउँबाट आउने नेता/कार्यकर्तालाई स्वागतका लागि चितवनमा ५० भन्दा बढी ठाउँमा स्वागतद्वार बनेका छन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चलगायतका सबै संरचना बनिसकेका छन् । 

बन्द सत्र हुने सौराहामा २२ सय जना अट्ने हल निर्माण गरिएको छ । सहभागीका लागि आवासको व्यवस्थापन कामसमेत सकिएको भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । भट्टराईले निर्वाचित र मनोनित गरी दुई हजार एक सय ७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभएको छ । 

यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार एक सय ९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । कुल प्रतिनिधिमा ६ सय २७ जना महिला र दुई सय नाै जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । यसैगरी महाधिवेशनमा एक सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।

बन्द सत्रको हल बनाउने तयारी पनि सकिएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकाले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । नारायणी नदी पारि नवलपुरको गैँडाकोट र नारायणगढका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखिने उहाँको भनाइ छ । 

उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको एमालेले जनाएको छ । उनीहरूलाई उद्घाटन सत्र र सडकमा परिचालन गरिने प्रचार विभाग प्रमुख भट्टराईको छ । 

एमाले महाधिवेशन प्रतिनिधिका लागि मङ्सिर १० गतेदेखि मात्रै आवास व्यवस्थापन गरिएको छ । भोलि शुक्रवार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मङ्सिर ११ गते बिहान आठ बजेर ३० मिनेटदेखि बन्द सत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । 

बन्द सत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरूले सम्बोधन गर्नुहुनेछ । मङ्सिर ११ गते बेलुका ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी, विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । त्यही दिन बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

एमालेले महाधिवेशनपछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ । प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशनपछि एमाले आउँदाे पालिका, प्रदेश र सङ्घको चुनावमा केन्द्रित भएर नागरिककाे बीचमा जाने बताउनुभयो । उहाँले अहिलेको महाधिवेशनले अन्तरविरोधलाई हल गरेर बलियो एकता कायम हुने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया