सामाजिक सुरक्षा कोष : एक सय २३ योगदानकर्ताका आश्रित परिवारले पाउन थाले पेन्सन

 मंसिर ११, २०७८ शनिबार १७:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सुरक्षा कोषले आज चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । वि.स. २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना सुरू गरिएको थियो ।

निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले ज्यान गुमाएकाहरुका परिवारलाई पेन्सनको व्यवस्था छ । कोषबाट औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धा अवस्था सुरक्षा योजनामा ४७ करोड २७ लाख रुपियाँ दाबी भुक्तानी गरिएको छ ।

कोषमा आबद्ध योगदानकर्तामध्ये अहिलेसम्म छ हजार ४५० योगदानकर्तालाई सात करोड १६ लाख ८५ हजार रुपैयाँ औषधि उपचार, १९१ योगदानकर्ताको दुर्घटनाबापतको ६० लाख ५८ हजार रुपैयाँ उपचार खर्च भुक्तानी गरिएको छ । कोषमा आबद्ध १२३ योगदानकर्ताको आश्रित परिवारलाई एक करोड १३ लाख रुपैयाँ भुक्तानी भएको छ । कोषले ज्यान गुमाएका योगदानकर्ताका आश्रित परिवारलाई मासिक २० लाख ६५ हजार रुपैयाँ पेन्सन भुक्तानी गर्दै आएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो ।

अहिलेसम्म १५ हजार ८२४ रोजगारदाता एवं दुई लाख ९५ हजार ६२२ श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा अहिलेसम्म १० अर्ब २९ करोड योगदान रकम सङ्कलन भएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया