बझाङमा महिलाकाे सक्रियतामा घरघरमा स्वच्छ खानेपानी

 मंसिर १४, २०७८ मंगलबार १३:४९:२१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - घरघरमा खानेपानी पुगे पछि बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरी गाउँका स्थानीय बासिन्दा दङ्ग परेका छन् ।

खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका उनीहरु अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै दङ्ग परेका हुन् ।  

घरघरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइमा समेत परिवर्तन आएको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम गरेका हुन् । 

छडाेखाेला खाेरी खानेपानी सरसफाइ याेजना उपभाेक्ता समितिका सहसचिव बसन्ती बुढा महिला जागरुक भए जस्तासुकै काम सहजै सम्पन्न गर्न सक्ने बताउनुहुन्छ । आफूसहित र अन्य महिलाकाे सक्रियतामा याेजना सम्पन्न गरेसँगै समाजमा महिला भनेर हेर्ने दृष्टिकाेणमै केही परिवर्तन आएकाे अनुभव उहाँले सुनाउनु भयाे । साथै उहाँले यसरी हुने याेजनामा महिला सहभागिता भए हिंसा र दुर्व्यवहारका घटनामा कमी आउनसक्ने विश्वास व्यक्त गर्नुभयाे । 

गाउँमा कुनै याेजना आउँदा उपभाेक्ता समितिमा पुरुषहरु रहने तर महिलाहरु भने छड्के साक्षीमात्रै बन्ने प्रचलन रहेकाे उहाँकाे गुनासाे छ । यस याेजनाकाे उपभाेक्ता समितिमा भने महिलाहरु बसेकाे र केही पुरुषहरुलाई मात्रै समितिमा समावेश गराइएकाे समितिका अध्यक्ष सुनिता बुढाले बताउनुभयाे । सुरुवातमा आफ्ना याेजनालाई हाँसाेकाे रुपमा लिए पनि याेजना सम्पन्न गर्दैगर्दा अन्य पुरुषहरुकाे पनि साथ पाएकाे उहाँकाे भनाइ छ ।

अहिले गाउँमा एक घर एक धारा निर्माण भएकाे छ । दिसाब पिसाब मिसिएकाे फाेहाेर पानी खानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीय सफा पानी पिउन पाउँदा मख्ख छन् ।

स्थानीय काली देवि बाेहाेरा भन्नुहुन्छ 'हाम्रै पालामा घरमै धाराे आउला भन्ने कल्पनासम्म गरेका थिएनाैँ । अहिले घरमै धारा आयाे । सफा पानी पिउन पायाैँ । पहिले फाेहाेर पानी खानुपर्दा थुप्रै स्थानीय बिरामी परेका थियाैँ। ​अब फाेहाेर पानीकै कारण बिरामी हुने समस्याबाट छुटकारा मिलेकाे छ।'

छबिसपाथीभेरा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भएको हो । खानेपानीकाे सुविधा भएपछि गाउँमा नाचगान गरेर खुसीयाली मनाइएकाे छ ।

महिलाहरुकै सहभागितामा ठूलो योजना सम्पन्न गरेको भन्दै गाउँपालिकाले उनीहरुलाई एक लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताउनुभयो।

छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर सातलाई पूर्ण सरसफाइ टाेल समेत घाेषणा गरिएकाे अध्यक्ष धामीले बताउनु भयाे । गाउँपालिकालाई पूर्ण सरसफाइ पालिका घोषणा गर्ने  निति तथा कार्यक्रम अन्तरगत वडा नम्बर १ देखि ६ सम्म घोषणा भइसकेकाे छ । यस अभियानमा पालिकाका सबै कर्मचारी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेवकदेखि विद्यार्थी समेतकाे सहभागिता रहेकाे उहाँले बताउनुभयाे । 

पछिल्लाे समय याेजना तथा पूर्वाधार निर्माण, सरसफाइ, जनचेतना अभिवृद्धि लगायतका काममा बझाङका महिलाहरुको सक्रियता  बढ्दै गएकाे छ । जसले गर्दा खानेपानी लगायत अन्य पूर्वाधार निर्माणमा महिलाहरुकाे सहभागिता उत्साहजनक देखिन्छ । जसका कारण महिलाहरुकाे दैनिकी सहज हुन पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया