सर्वदलीय बैठक : संसद् चल्न दिन एमालेलाई आह्वान

 पुस ४, २०७८ आइतबार १९:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको आज आइतवारको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई आह्वान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुकीपख बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् निरन्तर अवराेध हुँदा नियमित कामका साथै जनअपेक्षासमेत प्रभावित भएकाले जननिर्वाचित संस्थालाई लामो बन्धक बनाउनु उचित नहुने सर्वदलीय निष्कर्ष रहेको जानकारी दिनुभयो । 

यद्यपि आजकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन । ‘निरन्तर संसद् गतिरोधका कारण केही महत्त्वपूर्ण विधेयक र प्रस्तावसमेत अल्झिएका छन्, संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ’, बैठकपछि सञ्चारकर्मीसँच प्रवक्ता कार्कीले भन्नुभयो, ‘सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन, विरोध र असहमति प्रकट गर्ने मूल थलो संसद् भए पनि सिङ्गो संसद्लाई यसरी बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्याससमेत कमजोर हुन जाने खतरा हुन्छ ।’ उहाँले प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार रहेको पनि बताउनुभयो ।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमससीसी) सम्झौताका विषयमा पत्रकारले सोधेको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सर्वदलीय बैठकमा कसरी अघि बढाएर लैजाने भन्ने विषयमा दलबाट फरक फरक धारणा आएको जानकारी दिनुभयो । उहाँले त्यस विषयमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने पनि बताउनुभयो । प्रधानमन्त्रीले आमन्त्रण गरेको बैठकमा प्रमुख प्रतिपक्ष सहभागी हुनुपर्नेमा त्यो हुन नसक्नु विडम्बना भएको उहाँको धारणा थियो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया