घाइते सूचीमा नपरेको दर्ता नम्बर ३३८ !

 पुस १८, २०७८ आइतबार १३:५:४० | वैद्यनाथ पाैडेल
unn.prixa.net

सर्वहारा वर्ग तथा शोषित/पीडित जनताको मुक्तिका लागि भनेर उहाँले उठाएको बन्दुकले धेरैको जीवन स्तर उठायो तर, उहाँ स्वयंको जीवन उठाउन भने वैशाखी चाहिने भयो । यो नियति हो वृक्ष उखेरा क्षेत्री अर्थात अमृसाकारको ।  

जनमुक्ति सेनाको बटालियन कमाण्डर उहाँको विशेष गण्डक अभियान अन्तर्गत तानसेन–पाल्पामा भएको दोहोरो भिडन्तमा दायाँ घुँडा तथा ढाडमा गोली लाग्यो । त्यसपछि उहाँको जीवनमा कहिल्यै साथ नछोड्ने गरी अनन्य मित्र बन्न आइपुगेको छ, वैशाखी । 

सहिद, घाइते तथा लडाकुको बलिदान स्वरुप प्राप्त उपलब्धिका रुपमा प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा लहरै मन्त्री तथा पार्टीका उच्च पदस्थ सरकारी गाडी छन् । अनि त्यसकै आडमा कुर्सीमा हुनुहुन्छ उखेरा । सँगै काखमा छन्, उहाँका वैशाखी । 

सभाहलमा पार्टी अध्यक्ष कमरेड प्रचण्ड आफ्नो राजनीतिक दस्ताबेजमाथि परेका फरक मतको जवाफ दिँदै र सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले विगतमा भएको गल्ती सच्याउँदै सहर छोडेर गाउँ जाने कुरा गरिरहँदा गाउँबाट उखेरा भने उहाँहरुजस्तो घाइतेलाई केही व्यवस्था हुन्छ कि भनेर बाहिर बसेर कान थाप्दै हुनुहुन्छ । 

पार्टीबाट सरकारमा जाने मन्त्री तथा उच्च तहका नेताहरुले विगतमा जे जस्तो गल्ती गरे पनि घाइते, अपाङ्ग तथा विपन्न वर्गलाई आफ्नै छोराछोरी जस्तो व्यवहार गर्न आग्रह छ उहाँको । 

‘आफ्नो मान्छे तथा परिवारको सेटिङ मिलाउन भन्दा एक पटक फर्केर हाम्रा समस्यामा आउनुपर्छ’ उहाँको चेतावनीयुक्त आग्रह थियो । 

घाइतेलाई यसो दया मायाले दुई/चार हजार फाल्दिने होइन राहत तथा पुनर्स्थापनाकाे कार्यक्रम लिएर आउनु पर्ने उहाँको माग छ ।

‘हामी धैर्य धारण गरिरहेका छौँ । केही निकास निस्कन्छ भनेर बसिरहेका छौँ’ उहाँ भन्नुहुन्छ, ‘निस्किएन भने २५ गतेदेखि केही आन्दोलनका कार्यक्रमहरु तय गर्ने र अगाडि बढ्ने घाइते साथीहरुको छलफल भइरहेको छ ।’ 

वास्तविक घाइतेले सेवा, सुविधा तथा राहत नपाएको साथै पार्टीले व्यवस्थापन गर्न नसकेकोमा पार्टीका नेताप्रति उहाँको दुखेसो छ । 

गम्भीर घाइतेको टाउकोमा टेकेर कमिटी बनाए पनि पहुँचवाला तथा नेताहरुको चम्चागिरी गर्नेले राहत पाएको पनि उहाँको आरोप छ । 

‘व्यवस्थापन गर्न नसकेको भन्दा पनि नचाहेको देखिन्छ’ उहाँको आरोप छ, ‘यस्तै बेवास्ता गरे भने आउने चुनावमा पछारिन्छन् ।’

आफ्ना नजिकका कार्यकर्ता, छोरी ज्वाइँ तथा आफन्तलाई मात्र सेटिङ गर्नुभन्दा एक पटक फेरि फर्केर घाइते तथा विपन्न कार्यकर्तालाई हेर्न पनि आग्रह छ, उहाँको । 

उहाँको आक्रोश छ ‘यदि हेरिएन भने परिणाम नराम्रो आउँछ ।’ 

वीर अस्पतालमा जँचाउन आएको मौका परेर उहाँ महाधिवेशनमा आउनु भएको हो । महाधिवेशनमा कुरा बुझ्न, खबरदारी, चुनौती तथा सल्लाह दिन तथा आफ्नो मत राख्न पाइने उहाँको आशा छ । 

हाम्रो एजेण्डा, रगत, पसिना संसदीय व्यवस्थामा लगेर नेताहरुले भुल्ने हुन कि भनेर खबरदारी गर्न आफूहरु महाधिवेशनमा आएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘हाम्रो त रगत, पसिना बगेको छ । अरुलाई केही छैन । हाम्रो त प्रवल पीडा छ ।’ 

अहिले महाधिवेशनको चटारो र हतारो भएका कारण महाधिवेशन पछि समस्या समाधान गर्ने आश्वासन दिनु भएको छ अध्यक्षले उहाँलाई । अर्थ मन्त्री जर्नादन शर्माको आश्वासन पनि यस्तै छ । 

‘पहिले त नेताको बोली बन्दुकको गोली हुन्थ्यो । अहिले संसदीय व्यवस्थामा आएर नफेरियोस्’ उहाँको कामना छ, ‘हामीलाई दुई/चार हजार दिएर केही हुँदैन । राहतको व्यवस्था मिलाउनु हुन्छ भन्ने अपेक्षा गरेकी छु।’

राहतको व्यवस्था नमिलाए अर्कै किसिमले अगाडि बढ्ने घाइतेहरुको सोच छ । भन्नुहुन्छ, ‘धैर्यताको बाँध नटुटोस् ।’

अहिले पन्ध्र जना जति घाइतेहरु उपचार तथा महाधिवेशनका लागि आउनु भएको छ । 

वीर अस्पतालले दिने एमआरआई लगायतका अन्य सेवा मधेस आन्दोलन तथा जनयुद्धका घाइतेलाई निःशुल्क दिँदै आएको छ । तर, औषधिका लागि भने पैसा तिनुपर्ने व्यवस्था छ । 

उहाँहरुको लागि रोजगार तथा काम गर्ने स्थिति नभएको हुँदा औषधिको लागि पैसा तिर्नुपर्ने व्यवस्थामा परिमार्जन गर्न पनि उहाँको आग्रह छ । 

नेतालाई भने विदेश जाँदादेखि आर्यघाटको सम्मको व्यवस्था हुने तर घाइतेलाई चाहिएको गाँस, बास, कपास र औषधिको व्यवस्था नभएको लाजमर्दो स्थिति भएको उहाँको गुनासो छ । 

‘मन्त्रीले लिएको सेवा सुविधाको विरोध गरेको होइन हाम्रो पनि व्यवस्था हुनुपर्यो’ उहाँको माग छ, ‘विपन्न वर्ग घाइते, अपाङ्ग तथा औषधि गर्न नसक्नेको हकमा राज्यले नै व्यवस्थापन गरिदिनु पर्यो ।’ 

उहाँले अहिलेसम्म राज्यले दिएका सुविधा केही प्राप्त गर्नु भएको छैन । घाइतेको कार्यदलमा नाम पठाइ दिनुपर्नेमा उहाँको नाम बेपत्ताको सूचीमा पठाइयो । जसका कारण उहाँले राज्यपक्षबाट पाउने सुविधा पाउन सक्नु भएको छैन । 

उहाँको दर्ता नं ३ सय ३८ हो । र घाइतेको सूचीमा आउने प्रक्रियामा छ । 

नेताहरुले पहल कदमी नगरेका कारण यसो भएको उहाँको आरोप छ, ‘भेट्दा हुन्छ भन्नुहुन्छ । हामी यो अवस्थाको मान्छे कतिञ्जेल धाएर, आएर, बोलेर गर्न सकिन्छ । सम्भवै छैन ।’

अहिले उहाँका सबै दस्ताबेज गृह मन्त्रालयमा पेस भएका छन् । यी सबै नाम क्याबिनेट बसेर निर्णय हुने आश्वासन पनि पाउनु भएको छ उहाँले । 

हिजो अध्यक्षको एउटा बोलीमा कि मुक्ति कि मृत्यु भनेर खाएको गोलीको छर्रा अझै शरीरमा रहेको बताउँदै उहाँले यसको उचित प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ छ । 

अहिले फेरि अध्यक्षले नयाँ पार्टी, नयाँ विचार भनेर भनेका कारण यदि नागरिक, सहिद परिवार, घाइते तिर फर्कनु पर्छ र फर्कनु भयो भने पार्टी एक नम्बर पार्टी हुने दाबी छ उहाँको । ‘भाषण मात्रै हो भने पार्टी झनै खुम्चिएर साँघुरो घेरामा जान्छ’ उहाँले भन्नुभयो। 

अन्तिम अपडेट: पुस २५, २०७८

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया