यस्तो छ चलचित्र रामकहानी

 भदौ २५, २०७५ सोमबार १०:२०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

यो साता प्रदर्शनमा आएको चलचित्र रामकाहानीले राम्रो व्यापार गरिरहेको छ । चलचित्र प्रदर्शनअघि प्रचारका निम्ति खटिएको चलचित्र युनिट दर्शकलाई चलचित्र हेर्नका निम्ति प्रोत्साहन गर्न हलहरुमा पुगेर प्रतिकृया लिन समेत भ्याइरहेको छ । सँगै दर्शकले पनि चलचित्रलाई निकै रुचाएका छन् । कतिपय दर्शकहरु चलचित्र हेरेर निस्कँदा चलचित्रका वास्तविक कलाकार सामुन्नेमा देखेपछि डाँको छोडेर रोएको दृष्यहरु पनि देखिने गर्छ । 

सुदर्शन थापाद्वार निर्देशित चलचित्र रामकहानी समग्रमा राम्रो बनेको छ । पूजा शर्माको लोभ लाग्दो फ्यान फलोइङले पनि चलचित्रलाई फाइदा पुर्याएको छ ।

त्यसमाथि पनि निर्देशक सुदर्शन थापा प्रेमकथामा आधारित चलचित्र निर्माण गर्न माहिर छन्  । यसको उदाहरण उनले निर्माण गरेका यसअघिका चलचित्रहरु प्रेमगीत, म यस्तो गीत गाउँछु लगायतका चलचित्रहरुले देखाईसकेका छन् ।

चलचित्रमा कमेडी कलाकारहरुको बाहुल्यता रहेको छ । र उनीहरुले चलचित्रमा मसला थप्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठ बीचको प्रेमलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

पूजा शर्मा चलचित्रको मुख्य अभिनेत्री सँगै निमात्री निर्मात्री समेत हुन् । प्रेमभाव, कमेडी, पारिवारिक अवस्था, वैदेशिक रोजगारी लगायत ‘हरर’ चलचित्रको झल्को समेत दिने गरि चलचित्रको कथा वस्तुलाई समयोजन गरिएको छ । 

चलचित्रको कथा 

कथा वैदेशिक रोजगारीका निम्ति गएका केही युवाबाट सुरु हुन्छ । उनीहरु वैदेशिक रोजगारीमा गएर पनि त्यहाँको जेल जीवन बिताइरहेका हुन्छन् । उनीहरु कुनै गल्तीबिनै जेल सजाय भोग्न बाध्य भएका हुन्छन् । उनीहरु जेल भित्रै आफ्नो मृत्युको पर्खाइमा हुन्छन् । 

उनीहरुमध्ये एक युवा राम (आकाश श्रेष्ठ) निकै भावुक हुन्छन् । र उनी बारम्वार सँगै जेल चलान भएका साथीहरुलाई सम्झाइरहेका हुन्छन्, ‘हामीलाई केही हुँदैन, हामी जसरी पनि आफ्नो भूमी फर्किन्छौं ।’

ट्रेकिङ गाइडको काम गर्दा माया र रामको माया बसेको हुन्छ  । राम परिवारको करकापमा परेर विदेश पुगेका हुन्छन् । तर विदेशमा पनि उनलाई मायाकै यादले तड्पाइरहन्छ । रामलाई विश्वास छ, मायासँग गरेको वचनले बचाएर उनलाई नेपाल फर्काउने छ ।

तर, भित्रभित्रै उनीहरुलाई मरुभूमीमा लगेर गोली हानी मार्ने तयारी गरिन्छ । उनीहरुलाई पासपोर्ट दिइन्छ र लिएर भाग्न भनिन्छ, अनि मरुभूमीतिर दौडाइन्छ । त्यसपछि पछाडिबाट गोली प्रहार गरिन्छ ।

त्यसपछि के हुन्छ ? उनीहरु कसरी आफ्नो प्राण जोगाएर स्वदेश फर्कन्छन् ? त्यो भने हलमै गएर हेरे पछि थाहा हुने छ । यसरी चलचित्र सुरु भएपनि चलचित्रको मूलकथाले भने यससँग कुनै सम्बन्ध राखेको छैन ।

चलचित्रको राम्रो पक्ष 

कमेडी कलाकारहरुको बाहुल्यता हुनुले चलचित्र हेरिरहँदा दर्शकहरुलाई पुरै मनोरञ्जन दिन्छ । केदार घिमिरे, विल्सनविक्रम राई, रविन्द्र झा लगायतका हाँस्यकलाकारहरु दर्शकको खुलेर हास्ने माध्यम बनिदिएका छन् ।

धेरै नेपाली चलचित्रहरुको कमजोरी पक्ष एउटै हुन्छ, दर्शकले हलमा गएर चलचित्र हेर्न थालेपछि सुरुवाती चरणमै चलचित्रको अन्त्यसम्मको अनुमान लगाउँछन् र वास्तविक पनि त्यही पाउँछन् । र दिक्क मानेर चलचित्र हलबाट निस्कन्छन् ।

तर यो चलचित्रले भने त्यो अवसर दर्शकलाई दिएको छैन । दर्शकले अनुमान जे गरेका हुन्छन्, त्यही कुरालाई निकै आकर्षक ढंगबाट मोडिएको छ । र चलचित्रको मुख्य कथावस्तु पनि यही नै हो ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया