‘लकडाउन’ अघि प्राप्त मागपत्र कार्यान्वयन गर्न ६ महिनाको म्याद थप, ३० हजारभन्दा बढी मागपत्र कार्यान्वयन हुने

 पुस २२, २०७८ बिहिबार ७:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले रोजगारदाता देशबाट २०७६ साल फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि ६ महिनाको म्याद थप गरेको छ ।

कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव भएकाले व्यावहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२०७६ साल फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँगै कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनअघि प्राप्त भएका ३० हजारभन्दा बढी मागपत्र कार्यान्वयन हुनेछ ।

वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेदेखि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो ।

अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको तथा रोजगारदाताबाट श्रमिकको माग भइ आएकाले पहिले नै प्राप्त भएका माग पत्रअनुरुप श्रमिक पठाउन म्याद थप गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया