रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

 पुस २२, २०७८ बिहिबार ११:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – रोजगारीको लागि युराेपेली देश पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डौको कोटेश्वरमा रहेको युनिवल्र्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडा मैतिदेवी बस्ने बाग्लुङ गल्कोटका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही घर भइ ललितपुरको हरिसिद्धी बस्ने २४ वर्षीय समीर कार्की रहेको प्रहरीले जनाएको छ ।

वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाइदिन्छु भन्दै चार जनाबाट जनही १० लाखका दरले रकम मागी ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुले पीडितलाई मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाइ हुने प्रलोभन देखाएका थिए ।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय युरोपेली देशमा पनि वैदेशिक रोजगारीमा पठाउने नाउँमा ठगी गर्ने र ठगिने क्रम बढेकाले सबै कुरा बुझेर मात्र पैसा बुझाउन प्रहरीले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया