दाङ : सहकारीकाे रकम हिनामिना प्रकरणमा २ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

 पुस २७, २०७८ मंगलबार १९:५४:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ देउखुरी जिल्ला अदालतले देउखुरीको सोही बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा किरण भण्डारी र रुकमाङ्गद ज्ञवालीलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउन आदेश दिएकाे छ । 

अदालतले संस्थाकाे रकम हिनामिना प्रकरणमा दुवै जनालाई जनही ५०/५० रुपैयाँ लाख धरौटी मागको आदेश गरेको थियाे । तोकिएको धरौटी बुझाउन नसकेपछि दुवै जना जिल्ला कारागार घोराही पठाइएको छ ।

त्यस्तै अदालतले यस सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेललाई २५ लाख रुपैयाँ धरौटी मागेकोमा उनी तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका दाङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिनुभएको छ ।

धरौटी बुझाउन नसक्नेहरू तल्कालीन महाप्रभु बचत तथा ॠण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् । याे  संस्था गएकाे वर्ष एकीकरण भएर अहिले देउखुरी बचत तथा ॠण सहकारी संस्था भएको छ । 

गएकाे साउनमै प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी अदालतले मागेको साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा हुनुभएको थियो ।

राप्ती गाउँपालिका ८ मा साेही सहकारीका शिवध्वज मल्लसहितका शेयर सदस्यहरूले पाँच करोड २७ लाख २६ हजार ६ सय ९२ रुपैयाँ हिनामिना गरेका भन्दै २५ जनालाई प्रतिवादी बनाएर अदालतमा गएकाे असारमा जाहेरी दिइएकाे थियाे । 

रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया