बझाङका युवा काम खोज्दै भारततिर, गाउँ खाली हुँदै

 पुस २९, २०७८ बिहिबार ११:१०:३४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – गएको सोमवार बझाङबाट धनगढी र महेन्द्रनगरका लागि छुट्ने गाडी महिला र बालबालिकाले घेरिएको थियो । गाडीभित्र र बाहिर भएका सबैका आँखा रसाएका थिए । कोही एक अर्कालाई अँगालो हालेर रोइरहेका थिए । कोही ढोग–भेट गरिरहेका थिए ।

३६ जना यात्रुको चलानी काटेको महाकाली यातायातको गाडी र ३५ जना चलानी काटेका धनगढी जाने गाडीभित्र बसेका धेरैजसो यात्रु रोजगारीका खोजीमा भारत जानका लागि घरबाट हिँडेका थिए । बाहिरको भिडमा उनीहरूलाई बिदाइ गर्न आएका आफन्तहरू थिए । 

यसरी समूहमा नै गाउँका युवाहरू रोजगारीका लागि भारततिर जान थालेपछि गाउँमा पुरुषको सङ्ख्या घट्दै गएको छ । तिहारपछि सुरु भएको भारत जानेको लर्काे अझै रोकिएको छैन । 

‘मङ्सिरयता मात्र पाँच सयभन्दा धेरै जना यहाँबाट भारत गइसकेका छन्। कुनै–कुनै वडामा त एक जना पनि पुरुष भेटिँदैनन् । कसैको मृत्यु हुँदा लास उठाउने मान्छेसम्म गाउँमा छैनन्’, थलारा गाँउपालिका-९ का अध्यक्ष मोहनराज जैशीले भन्नुभयो, ‘२५–३० जना त परिवार र केटाकेटीसमेत लिएर भारततर्फ हिँडेका छन् । 

‘भारत जानेमध्ये धेरैले बनबासा र केहीले गौरीफन्टा नाका प्रयोग गर्ने गर्दछन् । महाकाली यातायातको बसमा यात्रा गर्ने ८० प्रतिशत यात्रु भारत जाने नै हुन्छन् । गएको कात्तिकदेखि नै भारत जानेको लर्काे लागेको हो’, सुदूरपश्चिम यातायातको सिमखेत काउन्टरका सदस्य जीवन खड्काले भन्नुभयो, ‘यो वर्ष भारत जानेको सङ्ख्या गएको वर्षभन्दा दोब्बरले बढी छ ।’ धैरैजसो श्रीमती र केटाकेटीसहित जाने गरेको उहाँले बताउनुभयो । यही वर्ष आएको बाढी–पहिरोले जमिन नै लगेपछि भारत जानेको सङ्ख्या गएको वर्षभन्दा बढेको हो । 

गाउँमा काम नपाएपछि वृद्ध आमाबुबालाई घरको जिम्मा लगाएर श्रीमती र छोरासहित भारतको बेङ्गलोर हिँडेको दुर्गाथलीका सुशील विष्टले बताउनुभयो । ‘खेतीपातीमा उब्जनी छैन, आमाबुबाको उपचार गर्नुछ, सबैको पेट पनि पाल्नै पर्यो’, उहाँले गुनासो पोख्नुभयो, ‘गाउँमा काम पाइँदैन, भारत नगएर के गर्नु ?’ 

श्रीमती र परिवारसहित गएकाहरु एक–दुई वर्ष बसेर फर्किने र एक्लाएक्लै गएका धेरैजसो मानिसहरू जेठको खेती लगाउने बेलासम्म घर पुगिसक्ने गर्दछन् । 

भारत जानेको सङ्ख्या यकिन नभए पनि गएको असोज र कात्तिक महिनामा आएको बाढीपछि विभिन्न गाउँबाट १५ हजारको हाराहारीमा मानिसहरू भारत गइसकेको अनुमान छ । बाढी र पहिरोको चपेटामा परेपछि खाद्यान्नको समस्या टार्नका लागि भारत हिँडेको धेरैको भनाइ छ । जडीबुटीको कारोबार र यार्सागुम्बाको मूल्य घटेका कारण पनि भारत जानेको सङ्ख्या बढेको जानकारहरू बताउँछन् । 

‘सरकारले घर बगाएकाहरूलाई मात्रै राहत र खाद्यान्नको व्यवस्था गरेको तर जमिन बगाएकाहरूलाई केही नदिएको गुनासो गर्दै मानिसरू रोजगारीको खोजीमा भारत लागेको खप्तड छान्ना गाउँपालिका-३ का अध्यक्ष मंगलबहादुर सुनारले बताउनुभयो ।  

बझाङबाट गएकाहरू भारतको बेङ्गलोर, केरला, तामिलनाडु, दिल्ली, उत्तराञ्चल, उत्तर प्रदेशलगायत विभिन्न ठाउँमा गएर भरिया, गार्ड र कृषि मजदुरका रूपमा काम गर्ने गर्दछन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Dammar Bahadur Gurdhami

    Jan. 13, 2022, 3:49 p.m.

    आफ्नो र परिवार को दुई छाक टार्न को लागि जस्तो सुकै काम पनि आफ्नै मात्री भुमिमा गर्छु भन्दा पनि कुनै पनि काम तथा रोज्गारी नपाउनु नै महा दु:खको कुरो हो । बृद्धअबश्था का आमा बुवा,बालबालिका लाइ 2/3 महिना मा आइहल्छु है राम्रो सङ्ग बस्नुहोला भन्दै गहभरी आसु बोक्दै परदेश तिर लाग्नु कुनै रहर होइन बिचरा 2 छाक खान र लाउन कै लागि हो । रज्यको ध्यान जावोस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया