उद्धार उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

 पुस २९, २०७८ बिहिबार १९:३१:४३ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर्ड उडानमा भएको अनिमियताका विषयमा छानबिन गर्न समिति गठन भएकाे छ ।  

आज बिहीवार मन्त्रालयका सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मन्त्रालयका उप सचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहनुभएको छ ।

गठन भएकाे समितिले भोलि शुक्रबारदेखि काम सुरु गर्ने संयोजक लुईँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएका अनियमतिताका बारेमा छानबिन समिति बनेको छ, समितिले भोलिदेखि काम थाल्नेछ ।’

कोरोना महामारी (कोभिड–१९) को समयमा गरिएको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको भन्ने गुनासो आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । याे समितिलाई दश दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया