बझाङ : प्रमुख प्रशासकीय अधिकृत नहुँदा जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित

 माघ १, २०७८ शनिबार १०:४२:३४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - प्रमुख प्रशासकीय अधिकृत नहुँदा बझाङकाे जयपृथ्वी नगरपालिकाको कामकाज प्रभावित भएकाे छ । 

जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनुभएका मंगल बहादुर शाहीको उपसचिवमा बढुवासँगै सरुवा भएपछि नगरपालिकाको कामकाज प्रभावित भएको हाे ।

असोज महिनापछि नगरपालिकाको आर्थिक तथा अन्य कामकाज हुनसकेको छैन । कामका लागि नगरपालिका पुग्ने सेवाग्राहीहरु रित्तो हात घर फर्किने गरेका छन् ।

जयपृथ्वी नगरपालिका-५ का स्थानीय बासिन्दा झलकबहादुर सिंहले आफ्नो कामका लागि दशौँ पटकभन्दा बढी नगरपालिका पुगेको तर प्रमुख प्रशासकीय अधिकृत नभएका कारण रित्तो हात फिर्ता हुनु परेको गुनासाे गर्नुहुन्छ ।

उहाँले भन्नुभयाे ‘सम्झौता भएको रकम लिनुपर्ने थियो । पटक पटक नगरपालिका पुगेर फिर्ता हुनु परेको छ । जतिपटक नगरपालिकामा पुग्दा पनि हाकिम  भेटिनुहुन्न। धेरै जस्तो सेवाग्राहीहरु मारमा परेका छन् ।' 

प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको दुई महिना पुग्दा समेत अर्को प्रमुख प्रशासकीय अधिकृत नपुग्दा थुप्रै सेवाग्राही मर्कामा परेका छन् । 

नगरपालिकाका पूर्व  प्रमुख प्रशासकीय अधिकृत शाही अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा हुनुभएकाे छ । जयपृथ्वी नगरपालिकाको निमित्तको जिम्मा भने लालबहादुर खातीलाई दिइएको छ। निमित्तको जिम्मा भएको भए पनि आर्थिक कार्यभार नपाएका कारण नगरपालिकाभित्र हुने आर्थिक तथा अन्य कामकाजमा समेत प्रभावित भएको छ।

स्थानीय बासिन्दा केन्द्र बहादुर विष्टले भन्नुभयाे ‘एउटा भएको प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा अर्कोलाई तत्कालै पठाउनु पर्थ्याे नभए सरुवा नै नगरेको भए कामकाज प्रभावित हुने थिएन। कि त निमित्तलाई नै सबै जिम्मेवारी दिएको भए सेवाग्राहीहरुलाई समस्या हुने थिएन’।

प्रमुख प्रशासकीय अधिकृत नभएका कारण योजनाको कामहरु समेत लथालिङ्ग भएकाे जयपृथ्वी नगरपालिका-१० का वडा अध्यक्ष दलबहादुर विष्टले बताउनु भयाे । उहाँले भन्नुभयाे ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुले तलब पाएका छैनन् । योजनाका काम गरेकाहरुले भुत्तानी लिन सकेका छैनन् । नगरपालिकाका सबै कामकाज लथालिङ्ग अवस्थामा छ । कर्मचारीहरु पनि कार्यालय प्रमुख नहुँदा घाम तापेर घर फर्कनु पर्ने अवस्था छ ।’ 

निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले भने केही काम प्रभावित बनेको भए पनि अहिले योजनाका कामहरु सम्झौता गर्ने प्रकृया आफूहरुले गरिरहेको बताउनु भयाे । प्रमुख प्रशासकीय अधिकृत भए सबै कामहरु सहज तरिकाले गर्न सकिने उहाँले  बताउनु भयाे । 

जयपृथ्वी नगरपालिकाभरि झण्डै १२ सयभन्दा बढी योजना रहेका छन् । बझाङ जिल्लामा रहेका दुई वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका तह रहेका छन् । जसमध्ये सबै पालिका तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया