अनलाइनबाट बच्चा पाऔँ, देशको जनसङ्ख्या बढाऔँ !

 माघ १६, २०७८ आइतबार ९:१४:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

एक हप्ता अघिसम्म नेपालको जनसङ्ख्या तीन करोड छ भन्थे त, हैन एकाएक कसरी घटेछ हँ कान्छा ?

भए जति मान्छे गनेनन् होला नि साइँला दाइ । 

किन गन्दैन थिए र ? घरघरमै पुगेका थिए । गाईबाख्राको त हरहिसाब खोज्दै थिए, मान्छे त झन् किन नगनेका होलान् र ? 

मान्छे मरेका मर्यै छन् । कहिले द्वन्द्व, कहिले दुर्घटना, कहिले कोरोना । जता फर्के पनि काल नै काल छ । धन्न हामी बाँकी छौँ र गणनामा परियो । अनि अर्को नि साइँला दाइ, उबेला रेडियोमा बज्ने विज्ञापन सुनेपछि मान्छेले मान्छे जन्माउन डराए । अनि जनसङ्ख्या घट्यो ।

हैन कस्तो विज्ञापनको कुरा गर्छ यो कान्छा ।

भन्न पनि लाज लाग्ने क्या साइँला दाइ ।

भन न भन मसँग के को लाज नि ?

त्यही क्या साइँला दाइ ! झिल्के दाइ छ छैन कण्डम......दुई सन्तान ईश्वरको वरदान।

हो त है कान्छा । ढालबहादुर भनेर पहिले हामीले अरुलाई जिस्क्याउँथ्यौँ, पछि हामीलाई अरुले जिस्क्याए । तर लाज लागे पनि नभइ नहुने कुरो नै रैछ । नेपालमा आठ करोडको त कण्डम नै आयात हुन्छ रे कान्छा । 

ल हेर त मलाई पनि त्यही विज्ञापनले झस्कायो, तँलाई पनि त्यही विज्ञापनले रोक्यो । मलाई पनि दुईभन्दा बढी जाँगर लागेन, तैँले त झन् एउटा जन्मेपछि नै अल्छी गरिस् । अझै एउटै नजन्माउने पनि कति छन् कति । एउटा भएपछि पुग्यो अब भनेर ढाल बाँधेर बस्ने पनि धेरै छन् । दुईजनाले मिलिजुली एकजना मात्रै जन्माएपछि कसरी बढोस् त जनसङ्ख्या ।

अनि लोडसेडिङ पनि हट्यो नि साइँला दाइ। लोडसेडिङ हटेपछि मान्छेलाई राति पनि बत्ती बालेर काम गर्ने, पढ्ने लोड थपियो । अनि जनसङ्ख्या त घट्ने भैहाल्यो नि।

लोडसेडिङ हटे पनि त्यतिका महिना लकडाउन भयो त कान्छा । लकडाउनको बेला दिनभर घरमा सँगै बस्दा के हेरेर बसे त मान्छेहरु ?

घरमा दुई जना मात्रै भए पो हुन्थ्यो, सबै भए नि साइँला दाइ । सबैलाई वातावरण मिलेन । वातावरण मिल्नेहरु पनि टिकटकमा पुराना फोटा र खानेकुरा देखाउन व्यस्त रहे । त्यसमाथि नजिक नपर्नू, भौतिक दूरी कायम गर्नू भनेर रेडियो र टीभीमा आएर डाक्टरले तर्साएको तर्सायै गरे । अहिले पनि नयाँ बेहुलाबेहुली हनिमुनको दिनमा समेत दुई मिटरको दूरी बनाएर सुत्छन् होला ।

ओहो ! कान्छा यस्तै हुने हो भने अर्को वर्ष त झन् मान्छे घट्ने भए । अझ दुःखको कुरा त हामीजस्ता साइँला, काइँला, ठाइँलाको अस्तित्व त सकिने भयो ।

त्यो त अहिले नै सकिन लाग्यो नि साइँला दाइ । के को साइँला र काइँलाको मात्रै कुरा गर्नुहुन्छ, माइला पनि त घट्दैछन् नि । जेठा र कान्छाहरुलाई चाहिँ आनन्दै छ, एक भए जेठो, दुई भए कान्छो । पाँच भए पनि जेठो र कान्छो, दशैजना भए पनि कान्छो र जेठो ।

अनि एक जना मात्रै हुँदा चाहिँ के नि ? हेर कान्छा एकजना भएपछि चुप लागेर बस्ने जोडीहरु थपिँदैछन् । यही पारा हो भने कान्छाहरुको पनि दिन सकिए ।

सकिँदैन साइँला दाइ, त्यो जेठो पनि भयो, कान्छो पनि भयो । कान्छो भनेको अन्तिमको हो । एउटा मात्रै भएर अरु भएनन् भने पनि कान्छो, अरु थपिए भने पनि पछिल्लो चाहिँ कान्छो । जेठो र कान्छोको अस्तित्व सकिँदैन । जेठी र कान्छी पनि हुन्छन् । जेठो र जेठी, कान्छा र कान्छी हुँदासम्म नो प्रोबोलम ।

ल बाबै तेरो त अलिअलि भए पनि चित्त बुझाउने ठाउँ बाँकी नै रहेछ । हामी माइलादेखि ठूलाकान्छाहरुसम्मले चाहिँ जनसङ्ख्या बढाउन आन्दोलन गर्नुपर्ने भयो ।

पहिले आफैँबाट सुरु गरे भइगो नि साइँला दाइ, के को पिर गर्नु ।

आफूबाट त कसरी सुरु गर्नु नि बाबै । त्यही रेडियोको खप्परमा विज्ञापन सुनेपछि बन्द गर्नतिर लागियो । त्यतिबेला त रेडियो, पत्रिकाहरुको विश्वास लाग्थ्यो । दुई भएपछि ईश्वरकै वरदान होला भनेर पत्याइयो । अहिले भएका भए कसले सुन्थ्यो र । हुने हुनामी भैहाल्यो, अब आन्दोलन गरे पनि आफूले बन्द गरेको नसो खुल्दैन कान्छा । कुरै खत्तम । 

छोराछोरीलाई चाहिँ तिमीहरुको पालामा विचार गर है भनेर सिकाउने नि साइँला दाइ।

आफूले कसरी भन्नु नि कान्छा । खै अब त आफैँ कुरो बुझ्छन् कि ?

खै के बुझ्लान् र साइँला दाइ, जुनसुकै बेला पनि फेसबुक र टिकटकमा झुण्डिन्छन् । अहिलेका मान्छे त झन् के भए के । लोग्ने यता फर्केर च्याट गर्छ, स्वास्नी उता फर्केर टिकटक बनाउँछे । पहिलो कुरा त काम मात्रै भन्छन्, फुर्सद निकाल्नै गाह्रो । फुर्सद हुनेबित्तिकै फेसबुक र टिकटकमा व्यस्त ।

हो नि कान्छा हाम्रो पालामा पो दिनभर काम भए पनि रातभर फुर्सद नै फुर्सद हुन्थ्यो । अहिलेजस्तो फुर्सदमा रमाउन र माया साटासाट गर्न मोबाइल थिएन । अहिले त मोबाइलमै रमाउँछन्, मोबाइलमै माया साटासाट गर्छन् । अनलाइन पढाइ, अनलाइन श्राद्ध, अनलाइन बिहेजस्तो अनलाइन बच्चा नहुने । के गर्नु र खै ?

खै, खै ! मान्छे ढालबहादुरका रङ्ग र सुगन्धमा डुबे साइँला ! देशको पैसा कण्डम किन्न खर्च भाको भाकै छ । जनसङ्ख्या घटेको घट्यै छ । 

मेरो विचारमा साइँला दाइ यो मोबाइलको ठाँडो हुँदासम्म जनसङ्ख्या बढ्दैन, तपाईंँहरु साइँला काइँलाको अस्तित्व पनि फर्कँदैन ।

सबैथोक अनलाइनबाट हुन्छ भन्छन् नि कान्छा, के बच्चा पनि अनलाइननै पाउलान् त ?

खै बेलाबेला नेट गइरहन्छ क्यारे, त्यसको पनि के भर भयो र साइँला दाइ ! 

अन्तिम अपडेट: बैशाख ९, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया